जय ट्रफी एलिट कप क्रिकेट : पुलिसले मधेशलाई एक पारी र ३५ रनल...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो ।
कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिइ सङ्घीय सरकारको अनुगमन र सहजीकरणका लागि सुझाव समेत दिएको छ । भेटमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताउनुभयो । उहाँले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरुले शुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।'
प्रधानमन्त्रीले आउँदाे दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि पालिकामा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्नेलगायतका कामबारे छलफल भएको बताउनुभयो । उहाँले नेपालीहरुमा सङ्कटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैँ यसपटक पनि सबै एकजुट भएको बताउनुभयो ।
आजै नेकपा (एकीकृत समाजवादी) ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।