सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

 कात्तिक २४, २०८० शुक्रबार ११:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ ।

हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।

२०७२ सालको भूकम्पअघि तिहारका बेला दैनिक ५० किलोको हाराहारीमा सुनको कारोबार हुने गरेको थियो । त्यसपछि भने भूकम्प, कोरोनालगायतका कारण आर्थिक मन्दी हुँदा कारोबार घट्दै गएको छ ।

यस्तै, तिहारमा चाँदीको कारोबार पनि बढेको छ । अहिले दैनिक एक हजार किलो चाँदीको कारोबार भइरहेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । यसअघि चाँदी दैनिक दुई तीन सय किलोको हाराहारीमा कारोबार हुने गरेको थियो । तिहारमा सुनचाँदी किन्दा शुभ हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सुनचाँदीसँगै तिहारमा पित्तलका सामान, कुचो, टाङ्लो, माटोले बनेका भाँडालगायतको पनि कारोबार बढी हुन्छ । 

यसैबीच, आज सुन चाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया