चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रका मुख्य बजारमा अनुगमन गर्दा १३ वटा पसलबाट एक हजार तीन सय ४४ वटा प्लास्टिकका फूलमाला जफत गरेको छ ।
ठाकुरबाबाका मुख्य बजार भुरीगाउँ, ठाकुरद्वारा, बकुवाका १३ वटा पसलमा शुक्रवार दिउँसो अनुगमन गर्दा बिक्री गर्न राखिएका झन्डै ८० हजार रुपैयाँ बराबरका प्लास्टिकका माला जफत गरेकाे अनुगमन टाेलीका सदस्य ध्रुवराज बमले जानकारी दिनुभयाे ।
प्लास्टिकका माला बिक्री नगर्न नगरपालिकाले सूचना निकाले पनि अटेरी गरेर बिक्री भइरहेकाे गुनासाे आएपछि नगरपालिकाकाे टाेली अनुगमनमा गएको हो । नगरपालिकाले गएकाे वर्षदेखि औपचारिक कार्यक्रममा खादा तथा ब्याच नलगाउने गरेकोमा यस वर्ष तिहार लक्षित प्लास्टिकका माला बिक्री नगर्न अनुरोधसहित सूचना निकालेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
अनुगमनको पहिलो चरणमा शुक्रवार प्लास्टिकका माला मात्रै बरामद गरिएको र तिहारको भाइटीकाभन्दा एक/दुई दिनअघि फेरि पनि अनुगमन गर्ने र त्यति बेला पनि प्लास्टिकका माला बिक्री गरेकाे पाइए माला बरामदसँगै जरिबाना लिने अनुगमन समितिका संयोजक इन्द्रबहादर राजवंशीले बताउनुभयाे ।
प्लास्टिकजन्य सामग्रीले वातावरणमा असर पुग्ने भएकाले प्लास्टिकका माला आफ्नो पालिकामा प्रतिबन्ध लगाइएको ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले बताउनुभयो । अघिल्लो वर्ष स्थानीय तथा फूल उत्पादनमा प्रेरित व्यवसायीले गुनासो गरेपछि अहिले आफैँले नीति तथा कार्यक्रम ल्याएरै यस वर्षदेखि प्लास्टिकका माला आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । अनुगमनमा सचेत गराइएका केही व्यापारीबाट माला जफत गरेको र यसलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
प्लास्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र पैसा बाहिरिने तथा मानव जीवनमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको ठाकुरबाबाका मेयर तिलकराम लम्सालले बताउनुभयो ।
प्लास्टिकजन्य फूलका माला बिक्रीमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने भएपछि फूल उत्पादन गर्ने किसानसँगै खुसी भएका छन् । पालिकाले पनि गाउँघरमै फुलेका फूलकाे माला प्रयाेग गर्न अनुराेध गरेकाे छ ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पालिकाले प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्दै लैजाने बताउँदै पालिकाअन्तर्गत रहेका सबै सरकारी तथा गैरसरकारी कार्यालय, उद्योगी, व्यवसायीसहित नगरवासीलाई चाडपर्वमा प्लास्टिकका माला प्रयाेग नगर्न सूचना प्रकाशित गरेको थियो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी पालिकाले २०७९ साउनदेखि राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूलमाला, गुच्छाकाे उत्पादन, आयात, बिक्री वा भण्डार गर्न राेक लगाएकाे थियाे । याे निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।