पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी आज सोमवारदेखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवैतर्फकाे तयारी पूरा भएको छ ।
आज बिहान दश बजे दुबै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका सञ्चालनका लागि उद्घाटन गर्ने बताइएको छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् ।
चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।
नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिनुभयो ।
शनिवार पालिका अध्यक्ष गुरुङको नेतृत्वमा वडाध्यक्ष र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) नेचुङका इञ्चार्ज भीम क्षेत्रीको सक्रियतामा चीनले उपलब्ध गराएको कन्टेनरबाट अस्थायी संरचना निर्माण गरिएको छ ।
लोमान्थाङका साथै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका नागरिकहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् ।
कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो ।
नाका संचालन हुनेभएपछि स्थानीयहरु उत्साहित भएका लोमान्थाङ गाउँपालिका वडा नम्बर २ भार्चाका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो । उहाँका अनुसार २७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर नाका उद्घाटन गरिदैछ ।
नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ ।
चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ । नाका सञ्चालनमा आएपछि माथिल्लो मुुस्ताङका नागरिकहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलेक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।