नयाँगाउँ होमस्टेमा थारु परिकारले पाहुनाको स्वागत

 कात्तिक ३०, २०८० बिहीबार १२:५९:२३ | रासस
unn.prixa.net

बाँके – ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास (होमस्टे)को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् ।

बाँकेको बैजनाथ–१ को गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ काे नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ ।

थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, माछालगायत परिकारले यतिबेला पाहुनालाई स्वागत गर्ने गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।

‘अहिले दशैँ, तिहारलगायत चाडपर्वका अवसरमा हामीले थारु संस्कृतिसँगै परिकारले पाहुनालाई स्वागत गरिरहेका छौँ,’ कृष्णले भन्नुभयो, ‘तिहार बिदामा घुम्न आउनुभएका पाहुनालाई थारु परिकारसँगै यतिबेला उहाँको चाहनाअनुसार स्थानीय कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराएको छौँ ।’

होमस्टेमा पहिलोपटक पुग्ने पाहुनालाई पुनः जाउँजाँउ लाग्ने बनाउन होमस्टे सञ्चालकहरू जुटेका छन् । थारु संस्कारमै गरिएको स्वागत, सत्कार र फरक स्वादसहितको मीठो परिकारले पाहुना खुसी हुने गरेको नयाँगाउँ होमस्टेका सञ्चालक सदस्य शोभी थारुले बताउनुभयो ।

दशैँ, तिहार मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा आउने गरेको राप्ती सोनारी–८ का नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटकहरू अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया