'फिल्ड' अस्पतालका लागि जाेर्डनले पठाएकाे बन्दोबस्तीको सामान गाजा पुग्यो

 मंसिर ४, २०८० सोमबार १९:५७:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलो पटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान आज साेमवार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भन्नुभयो, ‘अक्टोबर ७ पछि प्रत्येक दिन सयौँ घाइतेहरूको आगमन र हवाई आक्रामण जारी छ ।’ घाइते र बिरामीहरूलाई लिनका लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।

गाजामा झन्डै ३० हजार घाइते व्यक्तिहरू उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजामा ज्यान गुमाउनेकाे सङ्ख्या १३ हजार नाघेको र तीमध्ये धेरैजसाे सर्वसाधारण रहेका मन्त्रालयले आइतवार जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा झन्डै एक हजार दुई सय जनाको ज्यान गएकाे थियो जसमा धेरैजसाे सर्वसाधारण पनि थिए भने झन्डै चार सय जनालाई बन्धक बनाइएको थियो ।

हप्तौँदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका धेरैजसाे अस्पतालले काम गर्न छाडेका छन् ।

गाजामा रहेकाे 'मेडिकल एड' का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताउनुभयो । यागीले एएफपीसँग भन्नुभयो, ‘सीमित स्वास्थ्यकर्मीको सङ्ख्या र एम्बुलेन्स सेवाले तत्कालका लागि उपचार सेवा प्रवाह गर्नेछन् ।’

जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायता लिएर गाजा पुगेको थियो ।

इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

गाजाको 'क्रसिङ अथोरिटी' का प्रमुख हिशाम अद्वानले कुवेतबाट छ वटा एम्बुलेन्स पनि सोमवार गाजा प्रवेश गरेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया