स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त

 मंसिर १४, २०८० बिहीबार १९:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । बुधवार बसेकाे मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुबाेधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले माल्दिभ्सको मालेमा यही मङ्सिर २७ देखि २८ गतेसम्म आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति दिएको छ ।

यसैगरी राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवम् अध्यक्षमा उच्च अदालत पोखराका न्यायाधीश राजनबहादुर भट्टराई, विराटनगरको कानुन सदस्य तथा अध्यक्षमा उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने, काठमाण्डाैको कानुन सदस्य तथा अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयाे ।

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोकेको छ । त्यस्तै विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई र सदस्यमा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यसैगरी मङ्सिर २४ देखि २५ गतेसम्म कतारको दोहामा आयोजना हुने दोहा फोरम २०२३ मा परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री शर्माले रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई पदबाट हटाउने निर्णय भएको पनि बताउनुभयो ।

नेपाल सरकारको नाममा रहेको सरकारी जग्गा १५ शय्याकाे आधारभूत अस्पताल भवन निर्माणका लागि पर्साकाे पर्सागढी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, ३९१९ वर्गमिटर सरकारी जग्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणाका लागि राेल्पाकाे सुनिलस्मृति गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेकाे छ । 

यसैगरी साउदी अरेबियाको रियादमा मङ्सिर २७ देखि २८ गतेसम्म हुने फर्स्ट ग्लोबल लेबर मार्केट कन्फरेन्समा सहभागिताका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वीकृति दिने, नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त पदमा अच्युतराज पहाडीलाई मनोनीत गरिएको छ ।

प्रवक्ता शर्माले सांस्कृतिक संस्थान सञ्चालक समितिको अध्यक्षमा चन्द्रकुमार राईलाई तोकेको जानकारी दिनुभयो । यसैगरी राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन, सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद्को गएकाे मङ्सिर ७ गते बसेको बैठकले विद्युतीय सुशासन आयोगको रिक्त सदस्यमा पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ । त्यस्तै १०० रुपैयाँ दरका १० हजार थान स्मारिका टिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने, खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि विश्व बैंकमार्फत प्राप्त हुने २ करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने झन्डै ६५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो । उहाँले नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ को अनुसूचीमा इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड इन्फरमेशन इन्जिनियरिङ र इलेक्ट्रोनिक्स कम्युनिकेशन एन्ड अटोमेशन इन्जिनियरिङ विषयहरू थप गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया