आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो : स्वर्णिम वाग्ले

 मंसिर २०, २०८० बुधबार १८:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गरेको बताउनु भएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लले आजियाटा ग्रुपका सिइओलाई अर्थसमितिले पत्र काट्नुपर्ने माग गर्नुभएको हो । उहाँले अर्थ समितिमा आएर आजियाटा ग्रुपका सिइओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले आजियाटाका सिइओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताउनु भयो ।

उहाँले नेपालको अर्थराजनीतिक माहोललाई सङ्केत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतीहरु हवला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्‍याउने सम्भावना रहने बताउनु भयो । उहाँले देशलाई प्रगतिको बाटोमा लैजाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको वातावरण बनाउनु पर्ने दस्तावेजहरुले बोल्ने बताउनु भयो ।

उहाँले निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनु भयो । सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताउनु भयो । उहाँले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरुमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनुले गम्भीर प्रश्नहरु उठाएको बताउनु भयो ।

उहाँले वर्षको ४० अर्ब देखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेण्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरु, नीति निर्माताहरु र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले शेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन लगानी विकर्षणबारे वृहत नीतिगत समीक्षा आवश्यक भएको देखिन्छ । आजियाटा कम्पनीको सीइओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ । त्यसको लागि कस्तो सहयोग चाहिन्छ हामी तयार छौँ । विवेक सुद आजियाटाका ग्रुप एक्जुकेटिभ अफिसरले नोभेम्बर २९,२०२३ मा एउटा विज्ञाप्ति जारी गर्नुभएको छ । नेपालको अर्थराजनीतिक अवस्थालाई सङ्केत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतीहरु हवाला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रका उल्लेख छ । आजियाटाका शेयर धनीहरुको हितमा यो कदम आवश्यक भएको भन्ने पनि उल्लेख छ । त्यसले नेपाल राष्ट्र कै छविमा क्षति पुर्‍याउने सम्भावना रहन्छ । त्यही कारण उहाँलाई यही समितिमा उपलब्ध गराउनु पर्छ ।’

उहाँले शेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गर्नुभयो । उहाँले आजियाटाका प्रबन्ध निर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीइओलगायतलाई समितिले डाक्नुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया