अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – बबरमहलमा बस्ने भिमबहादुर अधिकारीलाई यसपाली दसैँ, तिहार मनाउन पोहोरभन्दा १० हजार रुपैयाँ बढी खर्च गर्नुपर्याे । लत्ताकपडा, खाद्यवस्तु, तरकारी र फलफूलमा चर्को मूल्य तिर्नुपर्दा चाडपर्व महंगो भएको उहाँको गुनासो छ । ‘दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल नकिनेर सुखै छैन’ अधिकारीले भन्नुभयो, ‘त्यसमाथि चाडपर्व पनि मनाउनै पर्ने । सबैथोकको भाउ बढेको छ । पोहोरको भन्दा १० हजार बढी नै खर्च भयो ।’
अधिकारीको मात्रै होइन, बजार भाउ महंगो हुँदा यस वर्षको दसैँ तिहारमा सबैको खर्च बढ्यो । चिनी, तेल, पिठोको मूल्य दसैँ सुरु नहुँदै बढेको हो । अहिले पनि मूल्य उस्तै छ । मैदा, आँटामा प्रतिकिलो १० देखि १५ र तेलमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । अहिले खुद्रा व्यापारीले मैदा र आँटा किलोको ६० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।
चिनीको भाउ त ठ्याक्कै यति हो भनेर भन्न सकिने अवस्था नै छैन । किलोमा ७० रुपैयाँ देखि ९० रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था छ ।
प्याज ४८ बाट बढेर ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी चामल, दाल, तरकारी, फलफूलमा मूल्य बढेको छ । अघिल्लो महिना असोज २५ गते रातो आलु किलोको ६८ रुपैयाँ थियो, अहिले ७ रुपैयाँ बढेर ७५ पुगेको छ । त्यसमाथि पसलैपिच्छे भाउ फरक–फरक छ । काठमाडौं काँडाघारीकी पार्वती कार्कीले गुनासो गर्दै भन्नुभयो ‘७ जनाको परिवार छ । ठूलो परिवारको खर्च पनि ठूलै हुन्छ । त्यसमाथि दैनिक उपभोग्य वस्तुको महंगीले गर्दा दुई छाक टार्न नै गाह्रो भैसक्यो ।’
महंगीमै मुख्य चाड दसैँ, तिहार सकियो । छठ पर्व सुरु भएको छ । छठका लागि चाहिने सरसामान पनि महंगोमै किन्नुपर्ने बाध्यता छ । बजार अनुगमन प्रभावकारी नहुँदा मूल्य बढेको उपभोक्ताको गुनासो छ ।
मुख्य चाडपर्व अगाडि बजार अनुगमनको चर्चा धेरै नै हुने गर्छ । फाट्टफुट्ट अनुगमन र केही व्यापारीलाई कारबाही पनि हुन्छ । यसपाली पनि मासु पसल, भाटभटेनी सुपर मार्केट सहित केही व्यापारीलाई कारबाही भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको भनाई छ । तर बजारमा भैरहेको मूल्यवृद्धिमा खुद्रा व्यापारीले थोक व्यापारीलाई दोष लगाएर उम्किन्छन् । अनि थोक व्यापारीले डलर र इन्धनको भाउ बढेको भनेर गुनासो गर्छन् ।
बजारमा मूल्य बढेको, गुणस्तरहीन वस्तु बेचविखन भए÷नभएको, तौल पुगे÷नपुगेको हेर्ने र अनुगमन गर्ने निकाय पनि अरुलाई नै दोष देखाउँछन् । तर उपभोक्ताको एउटै गुनासो हुन्छ बजार नियन्त्रण गर्ने जिम्मेवार निकाय कानमा तेल हालेर बसेको छ ।
अत्यावश्यक वस्तु चाडपर्वमा मात्रै किनबेच हुने होइन । चाडपर्वमा माग धेरै हुने मात्रै हो । माग बढी हुने मौका छोपेर व्यापारीले मूल्यवृद्धि गर्ने गरेका छन् । चाडपर्व सकिएलगत्तै अनुगमनको काम सुस्ताउने पुरानै प्रवृत्ति हो ।
सोचेअनुसार नै बजार अनुगमन हुन नसके पनि उपभोक्तालाई राहत दिने गरी दुई उपायबाट बजार मूल्य नियन्त्रण गर्ने काम भैरहेको महानिर्देशन गौचनको दावी छ । अहिले देशका ६२ ठाउँमा सुपथ पसल सञ्चालन भएका र ती पसल २७ गतेसम्म सञ्चालन हुने गौचनले बताउनुभयो ।
त्यस्तै विभागले नियमित अनुगमन र दोषीलाई कारबाही गर्दै आएको र यसलाई निरन्तरता दिने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।