शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको निष्कर्ष

 माघ १८, २०८० बिहीबार ९:४०:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको थाहा भएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।

टोलीले हरियो र निलो ढुसीको कारणले सुन्तला नष्ट भएको निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । भण्डारण गर्दा प्राविधिक त्रुटी रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको कारण अघिल्ला वर्षहरुको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धान पछि पत्ता लागेको छ ।

सुन्तलालाई पटक पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तलाहरु टिपेकोले पनि ढुसी देखिएको थाहा भएको छ । किसानहरु मानबहादुर श्रेष्ठ, चिरञ्जिवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा सुन्तला राखेका थिए । 

बेमौसममा महँगोमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि किसानहरु चिन्तामा छन् । अघिल्ला दुई वर्षमा पनि सुन्तला यसैगरी कुहिएर नोक्सान भएको थियो । यसवर्ष गएको मङ्सिरमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीत भण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाए अनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानहरुको भनाइ छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया