काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
रोल्पा – रोल्पामा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु आधुनिक तरिकाले व्यावसायिक बाख्रापालनमा लागेका छन् ।
साउदी अरबमा १२ वर्ष काम गरेर फर्केका सुनिल स्मृती गाउँपालिका–४ मिझिङका नेत्रबहादुर महरा अहिले व्यावसायिक बाख्रापालनमा लाग्नु भएको छ । देशमै केही गरौं भनेर दुई वर्षअघि आफूले २५ वटाबाट सुरु गरेकोमा अहिले ५४ वटा बाख्रा रहेको महराले बताउनुभयो । ‘विदेशमा पसिना बगाउनु भन्दा आफ्नै गाउँमा व्यवसाय गर्न आनन्द आएको छ ।’ महराले भन्नुभयो ‘विदेशमा कामदार बनेर काम गर्नुपर्थ्याे अहिले यता मालिक बनेको छु ।’
महरा मात्र होइन वैदेशिक रोजगारबाट फर्किएका गंगादेव गाउँपालिका–५ जिनाबाङका जीतबहादुर वली पनि अहिले झण्डै एकसय बाख्राको मालिक हुनुभएको छ । आधुनिक खोर बनाएर उन्नत जातका बाख्रापालन गरेकोले व्यवसायबाट मनग्य आम्दानी हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।
पहाडी जिल्ला भएकोले घाँस पातको लागि पनि प्रशस्तै जङ्गल छ । पहाडी भूभागमा ५० देखि एक सय भन्दा धेरै बाख्रा पाल्न त्यस्तो समस्या नहुने उनीहरुको भनाइ छ । मासु उत्पादनमा सहयोग पुर्याउन व्यावसायिक बाख्रापालनमा लाग्ने कृषकहरुलाई सरकारले सञ्चालन गरेको किसानका लागि उन्नत बीउविजन कार्यक्रम (केयुबिके)ले पनि अनुदान दिँदै आएको छ ।
रोल्पा जिल्लामा यो कार्यक्रमले किसानहरुलाई तालिम दिनुका साथै आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरुलाई बाख्रापालनमा पनि संभावना रहेछ भन्ने विश्वास बढेको केयुबिकेका बाख्रा विकास विशेषज्ञ डा. विजय घिमिरेले बताउनुभयो । ‘कार्यक्रम लागु हुनुभन्दा पहिले यहाँका कृषकहरुले बाख्रापालन पनि एक व्यवसाय हो जस्तो नै मान्दैन थिए’ घिमिरेले भन्नुभयो। ‘तर अहिले धेरैले एक सय भन्दा धेरै बाख्रापालेर व्यवसाय ढुक्कसँग चलाएका छन् ।’
जिल्लामा उन्नत जातका बोयरलगायतका छोटो समयमा धेरै वजन लिने जातका बोकाहरुसमेत भित्र्याइएको उहाँले जानकारी दिनुभायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।