कतारका राजा थानी आज नेपाल आउँदै : विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

 बैशाख ११, २०८१ मंगलबार ७:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ ।

अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुहुने भएको छ । साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ । आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

कतार नेपालको महत्वपूर्ण श्रम गन्तव्य देश हो । कतारमा तीन लाख ६८ हजार नेपाली श्रमिक कार्यरत छन् । प्रधानमन्त्री र अमिर थानीबीच भेटवार्तापछि द्विपक्षीय सहकार्यसम्बन्धी आपसी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रतिनिधिमण्डलस्तरीय बैठकपछि दुई देशबिच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिनुभयो । उहाँकाअनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ ।

नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह समेत  गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । कतारका राजाको सम्मानका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

तपाईको प्रतिक्रिया