जगन्नाथलाई भन्छन् ‘विदेशबाट आएर पनि किन यस्तो काम गरेको ?’

 मंसिर २०, २०७५ बिहिबार | मोहन पौडेल

काठमाडौं – ‘दुई दुई पटक विदेश गएर आएको । अनि यत्रो घर बनाएको छ । यत्तिको हुँदाहुँदै पनि किन यस्तो काम गरेको ?’ खोटाङ दिक्तेलका जगन्नाथ आचार्यलाई छरछिमेक, साथीभाइ अनि चिनेजानेकाहरुले भन्ने कुरा यही हुन्छ । 

अरुले भनेको जस्तै जगन्नाथ विदेश बसेरै फर्किनुभएको हो । तर काम गर्न उहाँलाई केही अप्ठ्यारो लाग्दैन । उहाँ सिकर्मी अर्थात काठको काम गर्नुहुन्छ । विदेश जानुभन्दा पहिला पनि उहाँ यही काम गर्नुहुन्थ्यो ।

त्यतिबेला उहाँलाई कसैले केही भन्दैनथे । सिकर्मीको काम गर्दा त्यतिबेला उहाँले दिनमा ७÷८ सय रुपैयाँ कमाउनुहुन्थ्यो । सँगैका साथी विदेश जान थालेपछि जगन्नाथलाई सिकर्मीको कामभन्दा वैदेशिक रोजगारी नै ठीक हो कि भन्ने लाग्यो । 

तर हतारमा विदेश गएर समस्यामा पर्नेहरुभन्दा फरक थियो उहाँको यात्रा । खोटाङबाट काठमाडौं आएका जगन्नाथले कुकको तालिम लिनुभयो तीन महिनाको । चाइनिज, इण्डियन र नेपाली कुकको तालिम लिएपछि मात्रै उहाँ म्यानपावरमा पुग्नुभयो ।

प्रायः धेरै युवा म्यानपावरमा जे कामको माग आएको छ, त्यही काममा जान तयार हुन्छन् । तर जगन्नाथले हतार गर्नु भएन । आफूले कुकको तालिम लिएकाले त्यही काम मिलाइदिन आग्रह गर्नुभयो ।
केही महिनामा म्यानपावरले उहाँले भनेकै काममा भिसा लगाइदियो । ७५ हजार रुपैयाँ लाग्ने बताएको म्यानपावरले सुरुमा ७ सय ५० रिंगिट तलब हुन्छ भन्यो । साथै तीन महिनामा तलब बढेर ९ सय रिंगिट पुग्ने आशा पनि देखाइदियो । 

यही सम्झौता मानेर जगन्नाथ २०६४ सालको दसैँ सकिएलगत्तै मलेसिया पुग्नुभयो । तलब म्यानपावरले भनेअनुसारकै थियो । तर म्यानपावरले तीन महिनामा बढ्छ भनेको तलब ९ सय रिंगिट पुग्न ६ महिना लाग्यो । 

सीप सिकेर जाँदा जगन्नाथलाई केही सजिलो पक्कै भएको थियो । तर यहाँ सिकेकाभन्दा अरु धेरै कुरा त्यहीँ सिक्नुभयो उहाँले । त्यही कारणले उहाँले पहिलो तीन महिना कुकको काम पाउनुभएन । हेल्पर भएर सहयोग गर्नुभयो । 

३ महिनापछि उहाँ कुक हुनुभयो । तलब चाहिँ ७ सय ५० रिंगिट नै थियो । ३ महिनामा जिम्मेवारी बढाएको कम्पनीले ६ महिनामा तलब ९ सय रिंगिट पु¥याइदियो । तीन वर्ष काम गर्दा उहाँको तलब १२ सय रिंगिट पुगेको थियो । उहाँले १५ सय रिंगिट माग्नुभयो । तर कम्पनीले दिन मानेन । 

भनेजस्तो नभएपछि उहाँ घर फर्किनुभयो । ३ वर्षको कमाईले जाने बेला लागेको ऋण मात्र तिर्नु भएन, दिक्तेलमा घडेरी समेत किन्नुभयो । उहाँ गाउँबाट सदरमुकाम सर्ने तयारीमा लाग्नुभयो । 

३ वर्ष मलेसिया बसेर फर्किएका जगन्नाथ सिकर्मीकै काम गरिरहनुभएको थियो । २१ महिनापछि मलेसियाको कम्पनी आफैंले १५ सय रिंगिट तलब दिने भन्दै फेरि बोलायो उहाँलाई । 

पहिलो तीन वर्षको कमाईले घडेरी जोडेका जगन्नाथलाई घर बनाउनु थियो । उहाँ फेरि मलेसिया जानुभयो । थप तीन वर्ष बस्दा तलब बढेर महिनाको १८ सय रिंगिट पुगेको थियो । त्यतिञ्जेलको कमाईले उहाँले दिक्तेलमा घर बनाउनुभयो । दोस्रोपटक मलेसियामा पुगेका जगन्नाथ तीन वर्षमा घर फर्किनुभयो । 

काम पुरानै, हेराइ फरक  

मलेसियाबाट फर्किएपछि उहाँ सदरमुकाममै बस्न थाल्नुभयो । घर बनाइसकेपछि भने उहाँलाई विदेश जानुपर्ने बाध्यता रहेन । हातमा सीप थियो, गाउँमै काम पाइन्थ्यो । उहाँले पहिले आफूले गर्दै आएको सिकर्मीकै काम थाल्नुभयो । 

तर उहाँसँग छरछिमेक, साथीभाइ अनि चिनेजानेहरुले गर्ने कुरा भने फरक छ । विदेशबाट फर्किएर सिकर्मी काम गरिरहेका जगन्नाथ भन्नुहुन्छ ‘विदेशबाट आएर पनि किन यस्तो काम गरेको भन्छन् ।’ 

तर जगन्नाथलाई यी कुराले त्यति गम्भीर बनाएको छैन । उहाँ भन्नुहुन्छ, ‘काम त कामै हो नि, विदेशमा गएर हामी जस्तो काम भए पनि गर्न तयार हुन्छौं, अनि आफ्नै ठाउँमा आफूले जानेको कुरा गर्न के गाह्रो ?’ 

अहिले पनि जगन्नाथलाई त्यही कम्पनीले बोलाइरहेको छ । तर दुई छोरी र श्रीमतीलाई छोडेर फेरि विदेश जान उहाँलाई मन छैन । ‘पैसा त हुन्छ, तर परिवारसँगै बसेर यहीँ पनि त कमाइरहेको छु नि, किन जाने विदेश ?’ उहाँले भन्नुभयो । 

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया