प्रधानमन्त्री रोजगार कार्यक्रममा जथाभावी नगर्न स्थानीय तहलाई मन्त्रालयको ध्यानाकर्षण

 असार ५, २०७६ बिहिबार १७:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि अनुसार मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

केही स्थानीय तहले कार्यविधिअनुसार काम नगरेको गुनासो आएपछि मन्त्रालयले कार्यविधि अनुसार मात्रै कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई पत्राचार गरेको हो । यसरी सञ्चालन गरिने कार्यक्रममा पूर्ण वित्तीय अनुशासन कायम राख्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा केही स्थानीय तहले झारा टार्ने र जथाभावी पैसा खर्च गर्ने हिसाबले काम थालेको भन्दै गुनासो बढेको छ । रोजगार कार्यक्रम सञ्चालन गर्दा यस्ता कमी कमजोरी भएमा अनुगमन गरी सच्याउन पनि मन्त्रालयले भनेको छ ।

बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्न भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा एक महिनाको कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन भएको छ ।

यसको लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि समेत तयार भएको छ । तर कार्यक्रम कार्यान्वयनका क्रममा केही स्थानीय तहले सञ्चालन गरेका केही आयोजनाहरु स्वीकृत कार्यविधि बमोजिम नदेखिएको भन्दै मन्त्रालयले सबै स्थानीय तहलाई यसको अनुगमन र मूल्याँकन गर्न निर्देशन दिएको छ ।

आयोजनाका बाँकी कामहरु ऐन, नियमहरुको परिधिभित्र रहेर पूर्ण वित्तीय अनुशासनका साथ गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया