भारतको विमानस्थल प्रयोग गरी खाडीका देश जान सिफारिस पत्र अनिवार्य

 असार ६, २०७६ शुक्रबार १८:५३:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – भारतको विमानस्थल प्रयोग गरी साउदी, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिविया र लेवनान जाँदै हुनुहुन्छ ?

त्यसो हो भने भारतस्थित नेपाली दूतावासबाट अनिवार्य रुपमा सिफारिस पत्र लिएर जानुहोला । भारतीय अध्यागमन पार गर्नका लागि दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन सर्टिफिकेट) आवश्यक पर्ने छ ।

सिफारिस पत्र बिना अध्यागमन पार गर्न पाईंदैन । त्यसैले दूतावासको सिफारिसका लागि आवश्यक कागजात सहित सम्पर्क गर्न भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

त्यो देश जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिले हस्ताक्षर गरेर निवेदन दिनुपर्ने छ । साथमा पासपोर्ट, गन्तव्य देशको हवाइ टिकट र भिसा, वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार विभागले जारी गरेको श्रम स्वीकृतिको प्रतिलिपि लगायतका कागजात पेश गर्नु पर्ने छ । 

साथै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने पनि दूतावासले जनाएको छ । त्यसैले प्रक्रिया पूरा गरेर मात्र यी देशबाट भारत प्रवेश गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया