परदेशीका परिवारलाई समूह मनोपरामर्श किन आवश्यक छ ?

 जेठ ७, २०७५ सोमबार १५:२०:२६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रामकुमार थापा/धादिङ ।

रोजगारीका लागि विदेश जानेहरु दिनहुँ बढिरहेका छन् । २/४ वर्ष परिवारसँग टाढा भएर कमाउँला र  सुखले बसौंला भन्ने सपना लिएर परदेशिने र उनीहरुका परिवारको अवस्था सधैं राम्रो हुन्छ भन्ने हुँदैन ।

टाढा हुँदा समान बुझाइ हुन नसक्नु, शंका उत्पन्न हुनु, भावना नबुझ्न नसक्नु, ऋण हुनु, सोचे जस्तो कमाइ नहुनु जस्ता विभिन्न कारण विदेशमा हुने र परिवारमा मानसिक समस्या हुन सक्छ । व्यक्तिमा हुने सोच, भावना र व्याबहारमा आउने नकारात्मक असर नै मनोसामाजिक समस्या हो ।

विषेश गरी वैदेशिक रोजगारमा श्रीमान्, श्रीमती वा छोरा विदेश गएका आमालाई देखिने मनोसामाजिक समस्या न्युनिकरण गर्नका लागि समुह मनोपरार्श विधि पनि अपनाउन सकिन्छ । श्रीमान् विदेश गएपछि घर सम्हाल्नुपर्ने जिम्मेवारी श्रीमतीको काँधमा आउछ ।

घर व्यवहारदेखि ऋण, धन, बच्चाहरुको स्याहार, खेतीपाती जस्ता काम श्रीमतीले नै धान्नु पर्ने हुन्छ । त्यस माथि श्रीमान् विदेश लागेपछि कतिपय महिलाले सामाजिक लान्छना पनि व्यहोर्न पर्छ । 

महिलाले मनका कुरा लुकाएर राखेका हुन्छन् । मनमा गुम्सिएका भावना र दुःख एकै पटक बाहिर आउदा क्षति पनि पुग्न सक्छ । खाना बसालेको प्रेसर कुकरमा सिठ्ठी नलाग्दा के हुन्छ, हो मनको कुरा बाहिर नआउँदा पनि त्यस्तै हुन्छ । 

मनको समस्या दिनहुँ बढ्दै जाँदा र त्यसको सही व्यवस्थापन गर्न नसक्दा आत्महत्याको बाटो रोज्नेहरु पनि बढिरहेका छन् । यस्ता समस्या भएका व्यक्तिले के सोच्छन होला, उनीहरुको सोचाइ र भोगाई हामीले सोचे र भोगे जस्तै होला त, पक्कै पनि फरक होला ।

फरक व्यवहार 

यस्तो समस्यामा परेका मानिसले बाह्य सामाजिक र अन्य वातावरणमा अरूसँग सहज तथा प्रभावकारी रूपमा सम्बन्ध राख्न र व्यवहार गर्न कठिन महसुस गर्छन् । जस्तै घुलमिल हुन नसक्नु, रिसाउनु, दिक्क मान्नु, झर्किनु, एक्लै बस्नु, रमाइलो कार्यक्रममा सहभागी नहुनु, निन्द्रा नपर्नु, मन स्थिर नहुनु, छटपटी हुनु जस्ता समस्या देखिने गर्छ । 

मनोसामाजिक अर्थात मन र समाजबिच हुने अन्तरक्रियाबाट आउने परिणाम हो । मस्तिष्क प्रक्रियाबाट उत्पन्न मानसिक अवस्था व्यक्तिमा अन्तर्निहित अवस्था हो । कसैले हलुका लिन्छन तर कसैले यसलाई धेरै अप्ठेरोको रुपमा लिन सक्छन् ।

मन अथवा मानसिक प्रक्रियालाई बुझ्न त्यसैले पनि आवश्यक छ । र यस्तो समस्या भएकाहरुलाई समूह मनोपरामर्श आवश्यक छ । 

आफन्त विदेशमा हुँदाको दुःख पीडा र भोगाइ सुन्दा र सुनाउँदा पन िनिकै कम हुन्छ । विश्वासका साथ समुहमा छलफल गर्दा नयाँ कुराको बारेमा जान्दछन् र मनको दुःख हलुका भएको अनुभव गर्दछन् । 

समूह मनोपरामर्शको फाइदा

सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङमा आवद्ध भएर मैले पनि विदेश जानेका परिवारलाई मनोपरामर्श दिइरहेको छु । समूहमा समस्या सुन्दा र सुनाउदा महिलाहरुमा निकै सुधार भएको पाएको छु । 

एउटा समूहमा सात पटकसम्म भेटेर समस्या सुन्ने, पीडा सुनिदिने साथी बन्दा समस्यामा रहेकाहरुको पनि सकारात्मक सोचको विकास भएको छ । । समुहमा अवस्था अनुसार १० देखि बढिमा १५ जनासम्म राखेर परामर्श गरिन्छ ।

परामर्श पनि उनीहरुलाई काममा पनि सहजता भएको बताउँछन् । चिन्ता लाग्दा गरेको काम भन्दा चिन्ता नपर्दा गरेको काम राम्रो हुने, र सहज हुने गर्छ भनेझै मानसिक समस्यामा रहेकाहरुले गर्ने काम अघिपछिको काम भन्दा अवश्यनै फरक पर्छ ।

महिनामा दुई पटक छलफल गर्ने र आवश्यक परे मनोपरामर्श सेवा घरमै गएर दिने गर्दछु । यसले गर्दा उनीहरमा देखिएको मनोसामाजिक समस्या कम भएर गएको छ ।  

धादिङमा समुह मनोपरामर्श अन्तर्रगत तीन सय जना सहभागी भएका छन् । जस मध्ये १० जनामध्ये ६ जनामा मनोसामाजिक समस्या भएको पाइएको छ । मानसिक रोग प्रति समाजमा रहेको नकारात्मक धारणा रहेको छ । मानसिक रोगलाई सहज रुपमा नलिने भएकाले यसलाई शारीरिक रोगसँग तुलना गरिन्छ ।

 जस्तै पेट दुखेको भन्छौं, तर कोही मानिसलाई दिक्क लाग्यो, नरमाइलो लाग्यो, मन भारी भयो भने मलाई टाउको दुखेर यस्तो भएको भन्ने गर्छन । जुन मनसँग सम्बन्धित कुराहरु बाहिर ल्याउदैनौं । धेरैजसो मानसिक समस्या भएका व्यक्ति उपचारमा जाँदा शारीरिक समस्या लिएर जान्छन् ।

धेरै जनाले त धामीझाँक्रीको विश्वास गरेर बस्ने पनि गरेका छन् । जसले गर्दा रोग निको हुनुको साटो झन बढेर जान्छ । त्यसैले समुहमा छलफल गर्दा उपचारमा ल्याउन पनि सहयोग पुगेको छ । 

समुह परामर्श पछि मानसिक समस्यामा परेकाहरुले औषधोपचारको साथै परिवारको माया पाएका छन् । समुहमा सहभागी हुनेले मानसिक रोगप्रति सकारात्क सोचको विकास गरेका छन् भने आफ्नो दैनिकीमा आएको तनावलाई पनि सहज रुपमा व्यवस्थापन गर्न थालेका छन् ।

परामर्शपछि व्यवहारमा पनि परिवर्तन आएको छ । घरमा विश्वास बढेको छ, बालबालिकालाई गरिने व्यवहारमा फेरिएको छ भने आफ्नो दैनिकीलाई राम्रोसँग व्यवस्थापन गर्न थालेका छन् ।

त्यसैले वैदेशिक रोजगारमा गएका परिवारमा देखिने मनोसामाजिक समस्या कम गर्न र जोखिम न्युनिकरणका लागि गरिने मनोपरामर्श  सेवा महत्वपूर्ण र आवश्यक छ ।   

(लेखक सुरक्षित आप्रवासन सामी परियोजनाले सञ्चालन गरिरहेको चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया