सम्बन्ध राम्रो बनाउन घरसल्लाह गर्नु पर्दोरहेछ (भिडियो)

 असार ३१, २०७५ आइतबार १६:२८:४५ | उज्यालो सहकर्मी

बिना लामा/ सर्लाही ।

म अहिले ३९ वर्षको भएँ । स्कूल गएर ६ कक्षासम्म पढेको छु । उमेरले ४० टेक्नै लाग्दा अहिले पनि पढ्न जान्छु । गाउँमा विदेश जाने र उनीहरुका परिवारका लागि सञ्चालन भएको वित्तीय शिक्षा पढिरहेको छु । 

पहिले ६ कक्षा पढे पनि त्यो पढाइले खासै केही भएन । पढेर मात्र पनि नहुँदो रहेछ । स्कूलको पढाइले भन्दा वित्तीय शिक्षाले परिर्वत गर्न सक्ने धरै कुरा सिकेँ । ६ कक्षा पढ्दा अक्षर चिनेँ अनि वित्तीय शिक्षा पढेर निकै व्यवहारिक कुरा जान्न पाइयो । 

विदेश जानेका लागि मात्र पढाइने यो शिक्षा सबै जनालाई आवश्यक छ जस्तो लाग्छ । हिजोआज प्रत्येक परिवारबाट विदेश जान्छन् । जो गएका छैनन् उनीहरु पनि भोलि जान सक्छन् । त्यति मात्र होइन सबै जनाले बचत गर्ने तरिका सिक्नु पर्छ र त्यसलाई व्यवहार पनि लागु गर्नुपर्छ ।  

मैले यो तीन महिनामा धेरै कुरा सिकेको छु । धेरै कुरामा परिवर्तन आएको छ । वित्तीय साक्षरता कक्षामा बस्नुअघि बुढाबुढीको खासै सल्लाह हुँदैन थियो । तर यो कक्षामा बस्न थालेपछि अहिले सरसल्लाह हुन थालेको छ । कुनै काम गर्नु अघि सल्लाह गरेर मात्रै गर्छौं । 

घरसल्लाह नगरी कुनै पनि काम नगर्ने कसमै खाएका छौं । खर्च पनि पारदर्शी हिसाबले गछौं । अहिले त हामी बुढाबुढीको सम्बन्धमा पनि सुधार आएको छ । 

गाउँमा मेरो किराना पसल छ । पसल चलाइरहेको छु । तर यो कक्षामा बसेपछि मलाई अझै केही गरौं भन्ने लाग्छ । बिहान बेलुकाको फुर्सदको समयमा यसो घरमै बसेर आम्दानी हुने केही काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । 

राती पनि केही गरौं भन्ने लाग्छ । मैनबत्ती बनाउने जस्ता कामको तालिम लिन पाए हुन्थ्यो । हुन त यो कक्षामा बसेर मैले बाख्रा पनि किनेँ । पसल बाहेक अरु काम पनि गर्न मन छ ।

यो कक्षामा बस्नुअघि त विदेश जाने भनेपछि जानु अघि केही सिक्नु अनि बुझ्नुपर्छ भन्ने थाहा थिएन । तर कक्षा बसेपछि सीप मुलक तालिम लिनुपर्ने रहेछ भन्ने बझें । 

आफू जाने देशको नियम कानुन पनि बुझन पर्ने रहेछ । अनि विदेश जाँदा पनि वैधानिक बाटोबाट मात्र जानुपर्ने रहेछ । जानु अगाडि कागजपत्रको एक प्रति छोड्नुपर्ने रहेछ । यस्ता कुरा यो कक्षामा नबसेको भए कहाँ थाहा हुन्थ्यो र ।

विदेश जाने र घरमा हुने दुवैका लागि उत्तिकै उपयोगी रहेछ यो शिक्षा । ज्ञान पनि पाइयो, व्यवहार राम्रो बनाउने तरिका पनि सिकियो । त्यसैले अब पसललाई नै राम्रोसँग अघि बढाउने सोचेको छु । 


बिना लामासँग सन्जिता देवकाेटाले गरेकाे कुराकानीमा अाधारित ।

तपाईको प्रतिक्रिया