ओमानमा रहेको नेपाली दूतावासले पनि जेठ १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाल्ने

 जेठ १०, २०८० बुधबार १७:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले पनि यही जेठ १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाल्ने भएको छ ।

यही जेठ १८ गते अर्थात् जुन एक तारिखदेखि पुनः श्रम स्वीकृति दिन थाल्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले दैनिक १५ जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने छ ।

तर सेवा लिनेहरू बढ्दै गएमा आवश्यकता अनुसार दैनिक सेवा प्रवाह गर्ने सङ्ख्या थपघट गरिने दूतावासको भनाई छ । दूतावासबाट पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था भएसँगै अब ओमानमा कार्यरत रहेकाहरूलाई पुनः श्रम स्वीकृतिको प्रक्रियामा कुनै अल्झन भएमा नेपाल आउन पर्ने बाध्यता हटेको छ दूतावासबाट पुनः श्रम स्वीकृति लिनका लागि सबैभन्दा पहिला अनलाइन फारम भर्न पर्दछ ।

अनलाइनबाट फारम भर्दा श्रम स्वीकृति लिने ठाउँमा ओमानको मस्कटमा रहेको नेपाली दूतावास भनेर विकल्पमा छान्न पर्छ । अनलाइनबाट नै सबै प्रक्रिया पुर्‍याएर आवेदन दिएपछि श्रम स्वीकृतिको निस्सा पनि अनलाइनमार्फत नै प्राप्त हुन्छ ।

श्रम स्वीकृति लिनका लागि दूतावासमा उपस्थित हुन पर्दैन । अनलाइन फारम भर्दा आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्न पर्छ । त्यसैले यस्तो फारम सकेसम्म आफैँले भर्न र आफूले नजानेमा वा कुनै समस्या भएमा कोही सहयोगी व्यक्ति, सङ्घसंस्था वा दूतावासका स्वयंसेवकमार्फत पनि सहयोग लिन सकिन्छ ।

दूतावासबाट अनलाइन आवेदन दिँदा पासपोर्ट साइजको फोटो, राहदानीको तस्बिर भएको पहिलो पेज, राहदानीमा लागेको आगमन र प्रस्थानको विवरण खुल्ने पेजहरू, करार सम्झौतापत्रको कपी, पुरानो श्रम स्वीकृति र भिसा आवश्यक पर्छ । 

अनलाइन आवेदनको क्रममा तोकिएको ठाउँमा जुन कागजात भनिएको छ त्यही कागजात तोकिएकै ढाँचामा जस्तै पीएनजी वा पिडिएफ फरम्याटमा पाँच एमबीभन्दा कम साइजको हुनुपर्छ । 

विदेशबाट पुनः श्रम स्वीकृति लिँदा पनि कल्याणकारी कोषमा रकम तिर्नुपर्छ भने बिमा पनि गर्नु पर्छ । यस्तै सामाजिक सुरक्षा कोषमा पनि दर्ता भई रकम जम्मा गर्दा राम्रो हुन्छ । कनेक्ट आइपिएस, इसेवा र खल्तीजस्ता माध्यमबाट यस्तो रकम तिर्न सकिन्छ ।

तर पुरानो श्रम स्वीकृति लिँदा आँखा वा औँठाछाप दर्ता गरिएको छैन भने विदेशमा रहेको नेपाली दूतावास छानेर पनि श्रम स्वीकृति लिन सकिँदैन । यसका लागि नेपाल आएर वैदेशिक रोजगार विभागको कार्यालयमा उपस्थित हुनुपर्ने दूतावासले जनाएको छ । 

ओमानसँगै कतार, साउदी र मलेसियामा रहेका नेपाली दूतावासले पनि यसअघि नै पुनः श्रम स्वीकृति दिन थालिसकेका छन् ।

तपाईको प्रतिक्रिया