साउदीको दमाममा सञ्चालन भएको शिविरबाट झण्डै आठ सय श्रमिकले गराए राहदानी नवीकरण

 जेठ ३०, २०८० मंगलबार १६:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : दूतावास

काठमाण्डौ – साउदी अरेबियाको पूर्वी क्षेत्रको दमाम सञ्चालन भएको राहदानी सेवा शिविरबाट झण्डै आठ सय जना श्रमिकले राहदानी नवीकरणका लागि आवेदन दिएका छन् ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार गएको शुक्रवार र शनिवार सञ्चालन भएको शिविरमा सात सय ९६ जनाले राहदानी नवीकरणको आवेदन दिएका छन् भने १२ सय जनाभन्दा बढीको नवीकरण गरिएको राहदानी वितरण गरिएको छ । शिविरमा २५ सयभन्दा धेरै श्रमिक उपस्थित थिए । 

दूतावासले साउदीमा रहँदा आइपर्ने साझा समस्या, त्यसको समाधानको उपाय तथा त्यहाँ रहँदा गर्न हुने र गर्न नहुने विभिन्न विषयबारे जानकारी समेत दिएको जनाएको छ ।

दूतावासले गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा साउदीको राजधानी रियादभन्दा झण्डै चार सय किलोमिटर टाढा रहेको दमाममा राहदानी शिविर सञ्चालन गरेको हो ।

यस्ता शिविर सञ्चालन नभएको बेलामा भने यस क्षेत्रबाट राहदानी नवीकरणका लागि श्रमिकहरू रियादमा रहेको नेपाली दूतावाससम्म आउनु पर्ने बाध्यता छ । दूतावासले बेलाबेलामा यस्ताे शिविर सञ्चालन गर्ने गर्छ ।

तपाईको प्रतिक्रिया