६६ पृष्ठको राहदानीको आवेदन फारम भर्न मलेसियास्थित नेपाली दूतावासको अनुरोध

 असार ५, २०८० मंगलबार १३:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले तत्काललाई राहदानीको आवेदन भर्दा ६६ पृष्ठको लागि आवेदन दिन अनुरोध गरेको छ ।

६६ पृष्ठ र ३४ पृष्ठको राहदानी बनाउँदा लाग्ने दस्तुर एउटै भएपछि दूतावासले मलेसियामा कार्यरत नेपालीलाई ६६ पृष्ठको राहदानीको आवेदन दिन भनेको हो ।

यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा लाग्ने दस्तुर फरक थियो । तर यही असार तीन गतेदेखि लागू हुने गरी सरकारले ६६ पृष्ठको राहदानी  र ३४ पृष्ठको राहदानी बनाउँदा लाग्ने शुल्क एउटै कायम गरेको छ ।

मलेसियामा रहेको नेपाली दूतावासबाट आवेदन दिँदा २४० मलेसियन रिंगिट अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ६ हजार ७ सय ८९ नेपाली रुपैयाँ दस्तुर लाग्छ । यो दस्तुर दूतावासमा बायोमेट्रिकका लागि दूतावासमा जाँदा तिर्दा हुन्छ ।

राहदानी बनाउन पनि पहिलेजस्तो फारम नै नभरी दूतावास गएर हुँदैन । पहिले नै अनलाइनमार्फत प्रि–इलरोलमेन्ट गरेर समय लिन पर्छ । प्रि– इनरोलमेन्ट अनलाइनमार्फत आफूलाई फुर्सद भएको समय गर्दा हुन्छ । दूतावासले एक महिनाको लागि दैनिक रूपमा आवेदन खुलाउँछ ।

दूतावासमा उपस्थित भएर आवेदन दिने दिनमा भने बिहान जतिसक्दो छिटो उपस्थित हुने दूतावासले अनुरोध गरेको छ ।

मलेसियाको स्थानीय समयअनुसार दिउँसोको १ बजेसम्म दूतावासमा उपस्थित भइसक्न पर्छ । दूतावासभन्दा टाढा टाढाको स्थानबाट आउनेहरू बिहानै दूतावासमा आइपुग्ने हुँदा बिहान सात बजेदेखि नै राहदानीसम्बन्धी सेवा सुरु हुने दूतावासले जनाएको छ । 

तपाईको प्रतिक्रिया