यूएईले श्रमिकलाई मध्यान्हको समयमा सिधा घाम पर्ने ठाउँमा काममा लगाउन लगायो प्रतिबन्ध

 असार ६, २०८० बुधबार १३:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले पनि मध्यान्हको समयमा श्रमिकलाई सिधा घाम पर्ने खुला ठाउँमा काम लगाउन प्रतिबन्ध लगाएको छ ।

जुन १५ अर्थात् गएको जेठ ३२ गतेदेखि मध्यान्ह साढे १२ बजेदेखि ३ बजेसम्म सिधा घाम पर्ने खुला ठाउँमा श्रमिकलाई काममा लगाउन प्रतिबन्ध लगाएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । यो नियम आउँदो सेप्टेम्बर १५ सम्म लागू हुने छ ।

प्रतिबन्ध लगाएको समयमा खुला ठाउँमा काम लगाएको पाइएमा रोजगारदातालाई प्रत्येक श्रमिक बराबर पाँच हजार दिर्हाम जरिबाना हुने छ । 

रोजगारदाताले यो समयमा जबरजस्ती काममा लगाएमा ६००५९०००० नम्बरमा फोन गरेर जानकारी दिन सकिने यूएईले जनाएको छ । 

यूएई सरकारको यो निर्णयले दैनिक कार्य घण्टालाई आठ घण्टामा सीमित गरेको छ । तर यो भन्दा बढी समय काम लगाएमा त्यसलाई ओभर टाइमको रूपमा गनिने र त्यस बापत थप रकम रोजगारदाताले श्रमिकलाई दिन पर्ने छ । 

यसअघि साउदीले पनि मध्यान्ह र दिउँसोको समयमा सिधा घाम पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध लगाएको छ । खाडीका देशमा यो समयमा चर्को घाम लाग्ने हुँदा सिधा घाम पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध लगाउने गरिन्छ ।

खाडीका सबैजसो देशले यो नियम कार्यान्वयनमा ल्याउने गर्छन् ।

तपाईको प्रतिक्रिया