सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

 असार ९, २०८० शनिबार १३:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै पाँच अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले अहिलेसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई चार अर्ब ७९ करोड रुपैयाँ भुक्तानी गरेको हो । 

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । अहिलेसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् । 

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत छ करोड ७४ लाख ९२ हजार दुई सय ६२ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबापत सात करोड ९६ लाख ७६ हजार दुई सय २६ रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबाट चार अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय ९९ रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषमा अहिलेसम्म ३५ अर्ब १० करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ । कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ ।

कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन् । सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । 

तपाईको प्रतिक्रिया