एकै महिनामा १ लाख ४७ हजार जनाले राहदानी लिए, अहिलेसम्मकै धेरै

 असार १५, २०८० शुक्रबार १३:१७:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय नयाँ राहदानी (पासपाेर्ट) लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गएकाे जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।

एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको अहिलेसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता एवम् निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैतमा एक लाख ४२ हजार र वैशाखमा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ । ६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया