विमानस्थलमा कतै स्याल कुद्ने, कतै गिद्ध उड्ने, अनि कतै भिड बढ्यो भन्दै आफन्त रोक्ने !

 असार १९, २०८० मंगलबार १४:५७:२० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

जनक गोले/हाल यूएई ।

केही दिन अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जानेलाई बिदाइ गर्न तीन जना मात्र जान पाउने बताएको छ । विमानस्थलमा भिडभाड र सुरक्षाको कारण देखाउँदै विमानस्थलले यस्तो नियम लागू गरिएको बताएको छ। 

विमानस्थलको यो नियमसँगै अब आफ्ना मानिस विदेश जाँदा तपाईँ हामी तीन जना मात्र विमानस्थलमा बिदाइ गर्न जान पाउँछौँ । थुप्रैलाई यो नियम राम्रो लागेको छ । तर मलाई भने यस व्यवस्था त्यति चित्त बुझेको छैन । 

मलाई लाग्छ यो नियम बनाउनेले कहिले पनि बिछोडको पीडा भोगेकै छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र विकल्प होइन । अर्बौं रकम खर्चिएर सरकारले थप दुई वटा विमानस्थल बनाइसकेको छ । दुई वर्ष हुन लागिसक्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको । तर यो विमानस्थलबाट नियमित उडान कहिले होला भनेर कुर्न परेको छ ।

धन्न एउटा विदेशी जहाजले इज्जत धानेको छ । नेपाल एअरलाइन्सले अब उडान गर्ने कुराले खुसी त बनाएको छ । तर कहिलेसम्म होला भन्ने चिन्ता पनि छ । उता पोखरा विमानस्थल उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडानहरू हुन सकेको छैन । अब कहिलेदेखि हुन्छ भन्ने पनि यकिन छैन । 

तर यसतर्फ सरकारले ध्यान दिएको देखिँदैन । अर्बौँको लगानी गरेर आफ्नो स्रोत साधन खर्चेर तयार भएका विमानस्थललाई व्यवस्थित गरेर उपयोगमा ल्याएर सुविधा दिनेबारे सरकारले कहिले सोच्ने होला ।

अनि भएको एउटा विमानस्थलबाट सबै जना विदेश उडेपछि भिडभाड त भइनै हाल्छ नि । हाम्रो विमानस्थलमा सरकारले सुरक्षाको कुरा गर्दा पनि उदेक लाग्छ । कहिले स्याल कुद्छन् त कहिले बाँदर ।

तर वर्षौँ वर्ष भेट नहुने आफन्तलाई बिदाइ गर्न विभिन्न ठाउँबाट आइपुग्नेहरूलाई चाहिँ गेटमै रोक्नु कतिको उचित होला । हुन त तपाईँलाई सही हो भन्ने पनि लाग्न सक्छ । किनकि बिदाइ त घरमै गर्दा भइहाल्यो नि भन्ने सोच पनि धेरैको छ ।

देशै छोडी जानेलाई विमानस्थलमा पुगेर हात हल्लाउनुको अर्थ सबैले अनुभव नगर्न सक्छन् ।

यदि नेपालमा भएका विमानस्थलहरू सञ्चालनमा आएमा काठमाण्डौमा रहेको विमानस्थलमा भीड त यसै घट्छ । तीन जना, पाँच जना भनेर सरकारले रोक्नै पर्दैन । 

1 Comments

  • Durga Shrestha

    July 4, 2023, 8 p.m.

    सारै मन पर्यो सर हजुरको बिचार🙏 यसको बारेमा नेपाल सरकारले सक्दो छिटो ध्यान दिनुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया