साउदीमा कार्यरत श्रमिकले अनलाइनमार्फत दूतावासमा आफ्नो गुनासो राख्न सक्ने

 असार २६, २०८० मंगलबार १४:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।

समस्यामा परेकाहरूले सहज रूपमा दूतावासमा आफ्नो समस्याहरू राख्न सकुन भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको दूतावासले जनाएको छ ।

यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतहरूलाई कुनै अप्ठेरो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्नो कुरा राख्न सक्छन् ।

यो व्यवस्थाले पहिलेजस्तो दूतावासको कार्यालय नै पुग्न पर्ने वा फोन गर्नु पर्ने बाध्यता हटेको छ ।

दूतावासमा भौतिक उपस्थित हुनु पर्ने वा फोनबाट समस्या राख्दा फोन नउठ्ने लगायतको समस्या श्रमिकले भोग्दै आएका थिए । 

अब भने अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासो उपर तत्कालै आवश्यक समन्वय थालिने दूतावासले जाएको छ । दूतावासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयासहरू गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्नेछन् ।

आफूले राखेको गुनासो उपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ । 

दूतावासले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत आफ्नो समस्या र गुनासो टिपाउन याे https://sa.nepalembassy.gov.np/complain/ लिङ्कमार्फत जान पर्छ ।

 यसका साथै दूतावासबाट कुनै सेवाको आवश्यकता भएमा थप जानकारी चाहिएमा दूतावासमा ०११४६१११०८ नम्बर बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म र ०११२८८३७९५ नम्बरमा दिउँसो तीन बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ । यी नम्बरमा दूतावास खुला रहने दिनमा मात्र सम्पर्क गर्न र सकेसम्म आफ्नो समस्या र गुनासा भने अनलाइनमार्फत नै टिपाउन दूतावासले अनुरोध गरेको छ ।

1 Comments

  • CHHONGBA SHERPA

    July 23, 2023, 4:37 a.m.

    हेलो सर नमस्कार। म नेपाल जान्छु भन्दा नि जाना दिएको छैन। मसँग पैसा नि छैन। काम गरेको पैसा पनि दिदैन्। हजुरहरू को सहयोग चिहियो। please🙏🙏🙏🙏🙏

तपाईको प्रतिक्रिया