खाडीको ३०/३५ हजार कमाइले अब देशमा परिवार पाल्न गाह्रो छ

 साउन २३, २०८० मंगलबार १५:३८:१५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

 गौरव जङ्ग कुँवर/हाल कुवेत ।

परदेश र परदेशीका कथा व्यथा देखाउन र चित्कार सुनाउन कुनै चिजको कमी छैन । गीत सङ्गीत, चलचित्र, कविता, कथा, निबन्ध, उपन्यास, सामाजिक सञ्जाल कति छन् कति । तर सुन्ने सुनिदिने कोही छैन । बस सुनाउनका लागि मात्र सुनाउने हो । बह पोख्दा मन भने शीतल हुन्छ । 

परदेशीले आफ्नो कथा खास सुनाउने सरकारलाई हो । तर सरकारले हाम्रो कुरा कहाँ सुन्छ र । सुनेर पनि नसुने झैँ गर्छ । घरी घरी त सरकार पनि कुनै मन्दिरको मूर्ति हो कि झैँ लाग्छ । 

युवाहरूले दिनहुँ हजारौँको सङ्ख्यामा देश छाडिरहेका छन् । देश छाड्नेहरूको भिडलाई सरकारले देखे नदेखे झैँ गरिरहेको छ । सरकार सोच्दो हो देश छाडे पनि रेमिट्यान्स त पठाउँछन् ।

सरकार त हामी परदेशीबाट सरकारको भक्ति गरुन् र भेटीको रूपमा रेमिट्यान्स पठाउन् भन्ने चाहन्छ । तर यो कुरा बुझ्न हामीलाई समय लाग्ने रहेछ । सरकार भन्ने कुरा विदेश आएपछि बुझियो । सरकार चलाउनेहरूको वास्तविकता पनि विदेशले नै चिनायो । 

हात हातमा मोबाइल र सामाजिक सञ्जाल आएपछि अर्को कुरा पनि थाहा पाइयो । देश चलाउने नेताहरू त नागरिकको नाममा अपत्यारिला र झुटा भाषण गर्ने अनि एकले अर्कोलाई दोष लगाउने पो गर्दा रहेछन् ।

हामी नागरिक पनि त्यसकै पछि लागिरहेका रहेछौँ । तर पनि के गर्नु विदेश आएपछि देशकै माया लाग्ने, आफ्नो जतिकै पिर चिन्ता देशकै लाग्ने रहेछ ।

यहाँ काम गर्दा नेपालको हिमाल, पहाड, तराईदेखि सबै जातजाति भाषा भाषी जे हुन् सबै नेपाल मेरो हो जस्तो लाग्छ । तर सामाजिक सञ्जालमा आफ्नैहरु बीचमा लडाइ लगेको देख्दा मन दुख्छ । नेताहरू कतिसम्म गैर जिम्मेवार हुन सकेकाजस्तो लाग्छ । दिनप्रति दिन मानवता हराउँदै गयो कि भन्ने कुराले मन पोल्छ ।

यता परदेशमा हेर्छु । मैले श्रम गरिरहेको देशले दुई दशकमा यति उन्नति प्रगति गर्‍यो कि त्यो कुनै शब्दमा व्यक्त गर्न सकिन्न । उता मेरो देश र मेरो सरकार परदेशीले पठाएको  रेमिट्यान्सको हिसाब गरेर मक्ख परिरहेको छ ।

तर यतिका रेमिट्यान्स पठाउने परदेशीका लागि सरकारले कुनै सहुलियत दिँदैन । शिक्षा र स्वास्थ्य यति महँगो छ कि खाडीमा कमाएको ३० हजार रुपैयाँ त यत्तिकै सकिन्छ । खाडीको कमाइले अब देशमा परिवार पाल्न गाह्रो छ । 

नुनदेखि चामलसम्मको भाउले आकाश छोएको छ । अझ कोही बिरामी पर्‍यो भने त घर खेत नै बन्धकी राख्नु पर्ने परिस्थिति छ । तर पनि हामीले देशलाई माया नै गरेका छौँ । देशको भलो नै सोचेका छौँ । देशलाई केही हुँदा सबैभन्दा पहिला मन हाम्रो नै दुख्छ । तर देशले भने हामीलाई दुःख मात्र दिन्छ ।

चाहे देश छाड्दा होस् चाहे देश फर्किँदा परदेशीलाई दुःख मात्र दिइन्छ । परदेश आउने बेला राहदानी बनाउँदादेखि म्यानपावर धाउँदासम्म अनेक हैरानी खेप्न पर्छ । अनि फर्कँदा पनि उस्तै अपमान देशमा पाइला टेक्नासाथ भोग्न पर्छ ।

दुई तीन वर्षको कडा मेहनत गरेपछि बल्ल देश जाने छुट्टी मिल्छ । छुट्टी पास हुँदाको खुसी कति हुन्छ कति । हातमा टिकट परेको  खुसीले रातभरि निद्रा नै लाग्दैन । घर फर्कने मिनेट र घण्टा गन्न सुरु हुन्छ । लगेजमा डोरी बाँधेर विमानस्थलमा पुग्दा युद्ध जितेर फर्किएको महसुस हुन्छ ।

यो उमङ्ग जब नेपालको विमानस्थलमा अवतरण हुन्छ क्षण भरमै भताभुङ्ग हुन्छ । हामीलाई त सामान्य मानिसजस्तो पनि गर्दैनन् । हाम्रो देशको विमानस्थलबाट क्वीन्टलका  क्वीन्टल  सुन छिर्छ ।

तर हामीले ल्याएको सानो चकलेटको पोकाेसमेत देखिसक्दैनन् । यो देशको भन्सारमा नियम त हामी खाडीबाट फर्किने मजदुरलाई मात्र लाग्छ कि ?

विदेशबाट आएको भनेपछि हामीलाई लुट्न कसैले बाँकी राख्दैनन् । विमानस्थलमा ट्याक्सीदेखि, होटल र माइक्रोबसले समेत हामीलाई लुट्न नै खोज्छन् र सकेसम्म लुट्छन् पनि ।

त्यतीबेला यो मनमा पशुपति शर्माको एउटै गीत याद आउँछ लुट्न सके लुट कान्छा...।

2 Comments

  • Chin Bahadur Shahi

    Aug. 9, 2023, 10:47 p.m.

    सर यो कुरा घतलाग्यो।

  • Sundar manka

    Aug. 9, 2023, 6:09 a.m.

    देसले जनतालाई दुखः दियको हैन देस चलाउने नेता भनाउँदा भाईरस जस्तो द्राईभरले गर्दा नेपालीले दुखः पाएको हो

तपाईको प्रतिक्रिया