विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

 साउन २५, २०८० बिहिबार ११:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई  क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज गरिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि डिलक्स एचआर सोलुसन र डी–स्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गर्दै एक लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ । 

यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले करार सम्झौता अनुसार सेवा सुविधा नपाएपछि अलपत्र परेर स्वदेश फर्किएका थिए ।

स्वदेश फर्किएपछि विभागमा परेको उजुरीको आधारमा कानुन अनुसार श्रमिकलाई क्षतिपूर्ति दिन म्यानपावर कम्पनीलाई विभागले निर्देशन दिएको थियो ।

तर पटक पटक ताकेता गर्दा पनि निर्देशन पालना नगरी अटेरी गरेपछि विभागले वैदेशिक रोजगार ऐन अनुसार पीडितको क्षतिपूर्ति बापतको रकम संस्थाको धरौटी रकमबाट भराई एक लाख रुपैयाँ जरिबानासहित विदेशमा श्रमिक पठाउने अनुमति नै खारेज गरिएको जनाएको छ ।

विभागका अनुसार डिलक्स म्यानपावरले बाइक राइडर र ट्याक्सी चालकमा पठाएका श्रमिक सम्झौता अनुसारको काम नपाएपछि अलपत्र परेका थिए । त्यस्तै डी–स्क्वारले साइप्रसमा पठाएका दुई जना महिलाहरू श्रमिक सम्झौता अनुसार काम नभएपछि स्वदेश फर्किएका थिए । 

वैदेशिक रोजगार विभागसँग श्रमिक पठाउन अनुमति लिएका म्यानपावर कम्पनीहरूले पठाएका श्रमिकले करार अनुसार काम र तलब नपाएर फर्किएमा क्षतिपूर्ति सम्बन्धित म्यानपावर कम्पनीले नै दिनु पर्ने व्यवस्था वैदेशिक रोजगार ऐनले गरेको छ ।

तर विभागले दिएको निर्देशनमा अटेरी गरेपछि संस्थाले धरौटी राखेको रकमबाटै क्षतिपूर्ति भराउने र कारबाहीसहित म्यानपावर नै खारेजीको निर्णय गरिएको विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया