६८ पालिकाले मात्रै गरे वैदेशिक रोजगारीबाट फर्किएकाको लागि पुनः एकीकरण कार्यक्रम

 साउन ३१, २०८० बुधबार १४:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्ष वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका ६८ पालिकाले मात्रै पुनः एकीकरण कार्यक्रम सञ्चालन गरेका छन् । 

कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेकामध्ये ६८ पालिकाले मात्रै कार्यक्रम सञ्चालन गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बोर्डसँग ८१ पालिकाले सम्झौता गरेका थिए ।

बोर्डले पालिकाकै प्रस्तावको आधारमा सम्झौता गरेर पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि रकम पठाएको थियो । तर बोर्डसँग सम्झौता गरेर रकमसमेत पठाइएका ८१ मध्ये १३ पालिकाले कार्यक्रम सञ्चालन गर्न नसकेको बोर्डको भनाई छ । 

गएको आर्थिक वर्ष बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

तर यस वर्ष भने बोर्डले यो कार्यक्रममा लागि बजेट घटाएको छ । यस वर्ष करिब १२ करोड रुपैयाँ बजे विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष बोर्डले एक अर्ब १२ करोड रुपैयाँ बजेटको नीति तथा कार्यक्रम तय गरेको छ ।

तपाईको प्रतिक्रिया