इजरायल रोजगारीमा जानेलाई केयर गिभरको तालिम दिने संस्थाले विभागसँग स्वीकृति लिनुपर्ने

 भदौ १५, २०८० शुक्रबार १४:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबदेखि इजरायलमा केयर गिभरको काममा जान चाहने श्रमिकलाई तालिम दिने संस्थाले वैदेशिक रोजगार विभागसँग अनुमति लिन पर्ने भएको छ ।

त्यसका लागि १५ दिनभित्र तोकिएको कागजातसहित निवेदन पेस गर्न विभागले सूचना जारी गरेको छ इजरायलमा केयर गिभरको रूपमा जाने चाहने श्रमिकले रोजगार आवेदन दिँदा नै अनिवार्य केयर गिभरको तालिम लिएको हुन्छ ।

यसअघि विभागसँग अनुमति नलिएका संस्थाहरूमा तालिम लिएको भए पनि हुन्थ्यो । तर अब भने विभागले केयर गिभर तालिम सम्बन्धी कार्यविधि २०७२ अनुसार इजरायल रोजगारीमा जाने श्रमिकलाई तालिम दिने संस्थाले भने अनिवार्य रूपमा विभागसँग अनुमति लिनु पर्ने नियम बनाएको हो । 

तालिम दिनका लागि विभागले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ ।  आवेदन दिँदा आफूसँग भएको भौतिक सामग्री र अन्य मापदण्डको समेत अलग्गै व्यवस्था गरी विभागमा बुझाउन पर्छ ।

इजरायलले नेपाल सरकारसँग सम्झौता गरी जीटुजी अर्थात् सरकारी प्रक्रियामार्फत नै दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली श्रमिकहरू लगिरहेको छ ।

विभागले यो नियम लागू गरेसँगै अब इजरायल रोजगारीमा जानको लागि केयर गिभरको तालिम लिन चाहने जो कोहीले तालिम लिनुअघि विभागसँग स्वीकृति लिएको संस्था हो कि होइन भनेर निश्चित गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया