राहदानी बनाउन सबै जना बिहानै आउँदा विभागमा भिडभाड, तोकिएको समयमा मात्र उपस्थित हुन अनुरोध

 भदौ १५, २०८० शुक्रबार १७:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानीको आवेदन दिँदा फारममा तोकिएको समयमा मात्र उपस्थित हुन सेवाग्राहीलाई राहदानी विभागले अनुरोध गरेको छ ।

दिउँसोको समयमा अपोइन्टमेन्ट(विभागमा उपस्थित हुने समय) पाएकाहरू पनि बिहानैदेखि आउँदा भिडभाड बढेको भन्दै विभागले यस्तो आग्रह गरेको हो । 

राहदानी विभागबाट द्रुत सेवा अन्तर्गत विद्युतीय राहदानी बनाउन सबैभन्दा पहिला अनलाइनमार्फत नै आवेदन दिनुपर्छ । आवेदन दिँदा कुन मितिमा कुन समयमा कार्यालयमा उपस्थित हुने भनेर समय पनि तोकिएको हुन्छ ।

जस्तै बिहान १० बजे, मध्यान्ह १२ बजे, दिउँसो ३ बजे आदी । तर पछिल्लो समय दिउँसो ३ बजेको अपोइन्टमेन्ट समय भएकाहरू पनि बिहानैदेखि विभागमा आउँदा बिहान अत्यन्तै भिडभाड हुने गरेको सूचना विभागले जारी गरेको छ । 

तर छिट्टै काम सक्छु भनेर बिहानैदेखि विभागमा लाइन नै बसे पनि आवेदन दिँदा पाएको समयभन्दा अघि काम हुँदैन । त्यसैले आवेदन फारम भर्दा आफूले कुन समय लिएको छ त्यही समयमा उपस्थित हुन पर्छ । दिउँसो ३ बजेको अपोइन्टमेन्ट भएका व्यक्तिहरू बिहान १० बजे नै कार्यालयमा उपस्थित भए पनि दिउँसोको ३ नबज्दासम्म काम हुँदैन ।

त्यसैले बिहानदेखि आएर आफ्नो समय खेर फाल्नुभन्दा तोकिएको समयमा उपस्थित भएर आफ्नो समय पनि बचाउन र विभागलाई भिडभाडरहित बनाउन राहदानी विभागले अनुरोध गरेको छ । 

राहदानी विभागले प्रत्येक दिन बिहान १० बजेदेखि आधा घण्टाको अन्तरमा १५० देखि २०० सयसम्म विद्युतीय राहदानीको अपोइन्टमेन्ट खुला गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया