Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

322nd Desh Paradesh 2018-08-28

कार्यक्रम देश परदेशको अंक ३२२ खाडी देशमा घरेलु कामदार जान रोक लागेपछि देखिएका असरका विषयमा केन्द्रित छ । घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिने व्यवस्था खारेज भएपछि युएईमा अड्किएर बसेका महिलाका कुरा कार्यक्रममा लिएर आएका छौं । 
सरकारको निर्णयले युएईबाट घर फर्किन नपाएका महिलाका कुरा सुनाउनेछौं । सरकारले जान रोकेपछि नेपाल भारत सिमा हुँदै घरेलु काममा खाडी जानेको अवस्था र त्यसलाई रोक्न के गरिदैछ भन्ने बिषयमा नवलपरासीको सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरिक्षक केशवराज ज्ञवालीसँग गरिएको कुराकानी पनि कार्यक्रममा सुनाउने छौं 
दिदी बहिनीका कुरा स्तम्भमा विदेश गएर भुक्तमान खेपेकी रेनु तामाङका अनुभव सुन्न सकिनेछ ।