Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

376_Desh Paradesh 2019-09-10

कार्यक्रम देश परदेशको ३७६ औं अंक विदेशका अस्पतालमा कोमामा उपचाररत बिरामीलाई स्वदेशमा ल्याउने तयारी र बिरामीको परिवारका समस्यामा केन्द्रित छ । ११ वर्षदेखि कतारको अस्पतालमा अचेत अवस्थामा उपचाररत झापाका श्रीबहादुर नेम्वाङको परिवारका कुरा कार्यक्रममा सुन्न सकिन्छ । कोमामा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदन र बिरामीलाई कसरी नेपाल ल्याउन सकिन्छ त भन्ने बिषयमा कार्यदलका सदस्य निशा बानियाँसँग गरिएको कुराकानी र श्रमिक कोमामा पुग्ने कारण र अपनाउनु पर्ने व्यवसायजन्य सुरक्षाका विषयमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका आयोजना प्रमुख बरुण कुमार झासँगको छलफल पनि कार्यक्रममा समावेश छ । देश परदेशको अनुभव र सुझाव स्तम्भमा, कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउन आवश्यक तयारीबारे प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्कीका सुझाव पनि सुन्न सकिन्छ । साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अप पनि ।