Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

381_Desh Paradesh 2019-10-15

कार्यक्रम देश परदेशको ३८१ औं अंक आजको देश परदेश कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गरिरहनुभएकी महिलाहरुमा केन्द्रित छ । 
आजको यस कार्यक्रममा यूएई र ओमानमा ८ वर्ष काम गरेर फर्किएपछि आफ्नै ठाउँमा गाई पालेर ५ जनालाई रोजगारी दिइरहनुभएकी झापाकी लक्ष्मी दङ्गालको संघर्ष र सफलताको कुरा सुन्न सकिन्छ ।
यस्तै लेबनानमा अनेक हण्डर खेपेर स्वदेश फर्केपछि घुम्ति पसल चलाएर घरपरिवार धानिरहनुभएकी झापाकै पुण्ड्यमायासँगको कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुनेछ ।
यस्तै आफूले थालेको उद्यम तथा व्यवसायलाई अगाडि बढाउन के कस्ता कुरामा ध्यान दिनुपर्छ र सहयोग र अनुदानको लागि कहाँकहाँ सम्पर्क गर्नुपर्छ भन्नेबारे नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठको सुझाव पनि कार्यक्रममा समेटेका छौँ । 
साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरु र हप्ताभरीका वैदेशिक रोजगारी सम्बन्धि गतिविधि र राउण्डअप पनि ।