Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

393_Desh Paradesh 2020-01-07

कार्यक्रम देश परदेशको ३९३ औं अंकमा विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरेर स्वरोजगार बनेका तीन युवाका सफलता समावेश छ । मलेसियामा एक्साभेटरको काम सिकेर फर्किंएपछि स्वदेशमे रमाइरहेका सर्लाहीका उमेश मण्डलको मलेसिया बसाइ र स्वदेशको कमाइका कुरा कार्यक्रममा सुन्न सकिन्छ । १२ वर्ष साउदीमा पसिना बगाएपछि स्वदेश फर्किंएर बाख्रा, कुखुरा र पाडा पालेर मासु उत्पादन गरिरहेका झापाका युवराज सिम्खडाको खुशी र यूएई र मलेसियामा गरी झण्डै एक दशक बिताएपछि ललितपुरको भैसेपाटीमा मासु पसल चलाएर चारजनालाई रोजगारी दिएका पाल्पाका कौशलराज रेग्मीका कुरा पनि कार्यक्रम समावेश छ । दिदीबहिनीका कुरामा सामुहिक रुपमा व्यवसाय गरेर परदेशमा रहेका श्रीमानलाई कमाइमा सघाइरहेकी झापाकै मेनुका उप्रेतीका भनाई समेटेका छौं । अनि, साथमा छ्, तपाईँका रुचिका विषय समेटिएको राउण्डअप पनि ।