धनगढी प्रिमियर लिग माघ १९ गतेदेखि

 कात्तिक ३०, २०७५ शुक्रबार १८:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गरिने जानकारी गराएको हो । गएको संस्करण वैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्न भएको थियो । नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ । 

विजय डिस्टिलरीले १ करोड १० लाख रुपैयाँ बराबरको मुख्य प्रायोजन गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा शुक्रबार विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एकेडेमीका अध्यक्ष शाहीले  प्रतियोगिता सफल पार्न सबैलाई आग्रह गरे । प्रतियोगितामा ६ शहरका ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सलाई नै निरन्तरता दिइएको छ ।

प्रतियोगिताको यसअघिका दुवै संस्करण टिम चौराहा धनगढीले जितेको थियो । पछिल्लो संस्करणको उपाधि विजेताले  २५ लाख रुपैयाँ पुरस्कार पाएकोमा यस पटक पुरस्कारको रकम भने सार्वजनिक गरिएको छैन । टी–२० फर्म्याटमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । लिग चरणमा शीर्ष चारभित्र पर्ने टोली प्लेअफका लागि छानिनेछन् ।

पहिलो प्लेअफमा शीर्ष दुई स्थानमा रहेका टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिगको तेस्रो र चौथो हुने टिमले इलिमिटेनर खेल खेल्नेछन् । त्यस खेलको विजेताले पहिलो प्लेअफमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

हरेक टिममा रहने १५ खेलाडीमध्ये बढीमा २ जना विदेशी खेलाडी र एक जना स्थानीय खेलाडी अनिवार्य गरिएको छ । 

तस्बिर - सुवास शाहीकाे फेसबुकबाट
 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया