ग्यारेजमै थन्किए बिजुली बस

 मंसिर २, २०७५ आइतबार १४:८:१९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – गएको कात्तिक ६ गते साझा यातायातको प्राङ्गण पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ बिजुली बसको उद्घाटन गरेको देख्दा धेरैलाई लाग्यो, अब भोलिदेखि नै बिजुली बसमा यात्रा गर्न पाइन्छ ।

तर उद्घाटन भएको एक महिना पुग्न लाग्दा समेत बिजुली बस सञ्चालनमा आउन सकेको छैन । केही बस साझा यातायातको प्राङ्गणमा थन्किएका छन् भने केही बस ग्यारेजमा छन् ।

लुम्बिनी विकास कोषले एसियाली विकास बैंकको सहयोगमा बीवाईडी कम्पनीका पाँचवटा बस सञ्चालनमा ल्याएको हो । तर लुम्बिनी अन्तर्राष्ट्रिय बिमानस्थल नबनेसम्म थन्क्याएर राख्नुभन्दा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

काठमाडौंमा बिजुली बस सञ्चालनको जिम्मा साझा यातायातले लिएको छ ।

किन चलेन बस ?

सञ्चालनको लागि साझा यातायात र लुम्बिनी विकास कोषबीच मौखिक सम्झौता भैसकेको छ । तर पनि लिखित सम्झौता नभएसम्म त्यसलाई सञ्चालनमा ल्याउन नमिल्ने साझा यातायात सञ्चालक समितिका कार्यकारी निर्देशक भुषण तुलाधरले जानकारी दिनुभयो ।

‘दसैँ तिहारको कारण सम्झौता हस्ताक्षरमा ढिलो भएको हो’, उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको बोर्डले स्वीकृत गर्नुपर्नेमा बोर्डको बैठक बसेको छैन । मन्त्रीज्यूको अध्यक्षतामा बोर्ड बैठक बस्ने हो, तर उहाँ व्यस्त भएकोले  ढिलो भएको हुनसक्छ ।’

लिखित सम्झौताबाहेक बस सञ्चालनको लागि प्राविधिक र प्रशासनिक काम गर्न पनि बाँकी नै छ । नेपालमा बिजुली बस सञ्चालन नयाँ भएकाले यसकोे लागि प्राविधिकहरुलाई तालिम दिने काम पनि भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले यहाँको भूगोलमा यसको प्रभाव परीक्षण गरिरहेका छन् । बस चार्ज गर्नको लागि स्टेसन निर्माण पनि भएको छैन । त्यसको लागि शहरको अवस्थालाई परीक्षण गर्ने काम भइरहेको र चार्जिङ स्टेसन राख्नको लागि विद्युत प्राधिकरणसँग सम्झौता भएको निर्देशक तुलाधरले जानकारी दिनुभयो ।

‘एकपटक बस चार्ज हुन चारघण्टा लाग्ने भएकाले कम्तीमा पनि तीनवटा चार्जिङ स्टेसन आवश्यक पर्छ’, उहाँले भन्नुभयो, ‘बस चार्जिङको व्यवस्था राति गर्ने गरेर सल्लाह भइरहेको छ । स्टक बिजुलीलाई बसको लागि खपत हुने गरी चार्जिङको व्यवस्था राति गरिनेछ ।’

यस्तै बस दर्ता गर्ने कामदेखि लिएर अन्य प्रशासनिक कामहरु पनि बाँकी नै छन् । बसको बिमा गरिएको छैन । अहिले ब्लू बुक पनि कोषकै नाममा छ । त्यो सबै काम सकेर बस सञ्चालनमा ल्याउन अझै केही समय पर्खनुपर्ने तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यति नै पछि सञ्चालनमा आउँछ भन्न सकिन्न, माघसम्म पनि लाग्न सक्छ ।’

लुम्बिनी विकास कोषका बस सधैं काठमाडौंमै चल्छन् ?

अहिले काठमाडैंमा ल्याइएका बिजुली बस लुम्बिनी विकास कोषका हुन् । लुम्बिनीलाई स्वच्छ पर्यटकीय नगरी बनाउने योजनाअनुरुप एशियाली विकास बैंकको आर्थिक सहयोगमा यी बस सञ्चालनमा आउन थालेका हुन् ।

गौतमबुद्ध बिमानस्थल निर्माण नभएसम्म साझा यातायातले चलाउने सम्झौताअनुरुप बस काठमाडौं ल्याइएका हुन् । बीवाइडी कम्पनीको ग्यारेज र यसको प्राविधिक टोली सबै काठमाडौंमै भएकाले यी बसलाई यहाँ ल्याइएको हो ।

साझा बसले पहिलेदेखि नै काठमाडौंमा बिजुली बस चलाउनको लागि  विभिन्न कार्ययोजना बनाउँदै आएको थियो ।

‘लुम्बिनी विकास कोषका बसहरु नआए पनि पहिलेदेखि नै हामी बिजुली बस राख्ने तयारीमा थियौं’ निर्देशक तुलाधरले भन्नुभयो, ‘अब लुम्बिनी विकास कोषका बस हामीले चलाउने भएका छौं, जसले गर्दा यो नयाँ प्रविधिबारे हामी जानकार हुनेछौं र आफ्नै बस राख्न पनि हामीलाई सजिलो हुनेछ ।’

साझा यातायातले चिनियाँ कम्पनीसँग विद्युतीय बस खरिदको लागि गृहकार्य गरिरहेको छ । लुम्बिनी विमानस्थल नबनेसम्म कोषका बसहरु काठमाडौंमै चल्नेछन् र त्यतिबेलासम्म साझा यातायतले आफ्नै विद्युतीय बस ल्याउने तयारी गरेको छ । 

‘पछि यी बस फिर्ता जान पनि सक्छन्, नजान पनि सक्छन् अहिले केही भन्न सकिंदैन’, तुलाधरले भन्नुभयो, ‘त्यतिबेलासम्म हामीले अन्य थुप्रै विद्युतीय बस राखिसकेका हुनेछौं । सन् २०२० सम्म साझाले जम्मा बसको २० प्रतिशत बस विद्युतीय बनाउने लक्ष्य राखेका छ ।’

कुन रुटमा चल्छन् बस ?

‘बस कुन रुटमा चल्छन् भन्ने कुरा अहिले नै तय भैसकेको छैन । सरकारले भर्खरै तय गरेका प्राइमरी, सेकेण्डरी र टर्सरीमध्ये यो बस सानो आकारको भएकाले सेकेण्डरी या टर्सरीमै चल्नेछ,’ तुलाधरले भन्नुभयो, ‘एरपोर्टबाट सुरु भएर उपत्यकाका बिभिन्न ठाउँसम्म पनि पुग्न सक्छन् ।’

अहिले उपत्यकामा यसको परीक्षण भइरहेको उहाँले बताउनुभयो । बस कत्तिको उकालोमा चढ्न सक्छ भन्ने परीक्षण भइरहेको छ । ‘यदि नगरकोटको उकालोमा यात्रु बोकेर जाँदा समस्या आउँदैन भने त्यहाँसम्म पनि सञ्चालनमा ल्याउने सोच छ’, तुलाधरले भन्नुभयो ।

बसमा सुविधा

दुईकरोड रुपैयाँ पर्ने यी बस चीनको बीवाईडी कम्पनीले निर्माण गरेको हो । यी बस वातावरण मैत्री छन् ।

बस स्टार्ट गर्दा कुनै आवाज आउँदैन भने कालो धुवाँ पनि फाल्दैन । बसमा सीसी क्यामेरा र एसीको व्यवस्था छ, ह्विील चियरलाई माथि उठाउन मिल्ने गरी लिफ्ट राखिएको छ । 

यात्रु बस्न मिल्ने २० वटा सुविधायुक्त सिटहरु छन् । उभिएर समेत जम्मा ४० जना यात्रुहरु बसमा यात्रा गर्न सक्छन् ।   
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया