बेनी–दरबाङ सडक : ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन

 जेठ २६, २०८१ शनिबार १५:४०:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणबाङ–दरबाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षमा पनि सम्पन्न गर्न नसकेको छैन । मङ्गला गाउँपालिका–२ रणबाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक २०७८ सालको जेठ महिनामा सकिनुपर्ने योजनाको अहिलेसम्म झन्डै ७५ प्रतिशत मात्रै काम सकिएको आयोजनाको कार्यालयले जनाएको छ ।

सडक कालोपत्र गर्न २०७६ सालको जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । बेनी–दरबाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएको मङ्गला–२ रणवाङका लक्षिनबहादुर मल्लले बताउनुभयो ।

गण्डकी प्रदेशको 'एक निर्वाचन क्षेत्र एक सडक' कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरे पनि बेवास्ता गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । ‘रणबाङ–तोलाबाङ–ढाँडखर्कखण्डको चार किलोमिटर सब बेस राखिसकेको निर्माण व्यवसायीले पेस गरेको कार्यतालिका अनुसार बेस, कोट राखेर कालोपत्र गर्न ढिलाइ गरेका छन्’ उहाँले भन्नुभयो, ‘फोन नउठाउने निर्माण कम्पनीका सञ्चालकलाई पत्र काटेर ताकेता गरेका छौँ ।’

ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ। पहिलो प्रभावितबाहेक रणबाङदेखि ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ ।

निर्माण कम्पनी क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्री नपाउँदा समयमा काम गर्न समस्या भएको बताउनुभयो । चालु आर्थिक वर्षमा रणवाङ–तोलाबाङ खण्डमा कालोपत्र सम्पन्न गर्न केही दिनमै उपकरण र मजदुर ल्याएर आउने थकालीले बताउनुभयो ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडक २०६३ सालमा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले रणनीति महत्वको मानिएको छ ।

बेनीदेखि सिमसम्म १२ दमलव पाँच किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किलाेमिटर सडकको पहिलो चरणको कालोपत्र सकिएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले सहजीकरण र समन्वय गरे पनि क्याराभान निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताउनुभयो । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीका अनुसार क्याराभान गण्डकी प्रदेशमा सबैभन्दा धेरै आयोजना अलपत्र पार्ने निर्माण कम्पनी हो ।  

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया