विद्यालयको ऋण तिर्न सिँढी बिक्रीमा !

 पुस १५, २०७५ आइतबार १५:५५:८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्दा ऋण लागेपछि पर्वतको फलेवास नगरपालिका ९ को एक विद्यालयले विद्यालयमा जानका लागि निर्माण गरिएका सिँढीहरु बिक्रीमा राखेको छ ।

फलेवासको भंगरामा स्थापित ग्रामोदय माध्यमिक विद्यालयले विद्यालयलाई ऋण मुक्त गराउन दाताहरुलाई सहयोग गर्न आग्रह गर्दै सिँढी बिक्रीमा राखेको हो । २०१७ सालमा स्थापना भएको उक्त विद्यालय प्रावि तह हुँदै निमावि र मावि तहसम्म सञ्चालनमा आएको छ । अहिले विद्यालयको आन्तरिक स्रोत केही नभएपछि विद्यालयसम्म जानका लागि निर्माण गरिएका सिँढीहरुमा नाम लेखाउन पाउने गरी सहयोगको आह्वान गरिएको हो ।

एक वर्षअघि विद्यालयको गेटसम्म जानका लागि निर्माण गरिएका सिँढीहरुमा नाम लेखाउने गरी सहयोग गर्न दातासँग अपेक्षाकृत सूचना जारी गरेको विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

‘दाताहरुसँग अनुरोध गर्ने र सहयोग स्वरुप सोही सिँढीमा दाताको नामाङ्कन गर्ने भनेका छौँ’, प्रधानाध्यापक सापकोटाले भन्नुभयो, ‘योसँगै विद्यालय परिसरमा नै दाताहरुको नाम सार्वजनिक स्थलमा राख्ने भनेका छौँ ।’

विद्यालय व्यवस्थापन समितिको केही दिन अघि बसेको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समयमा विद्यालयमा निर्माण भएका पुराना भवनहरुमा रङरोगन साथै अन्य भौतिक संरचना निर्माण गर्दा लागेको झण्डै तीन लाख रुपैयाँ ऋण तिर्न यस्तो विकल्प अपनाइएको उक्त वडाका अध्यक्ष गंगाधर शर्माले बताउनुभयो ।

संघीय संरचना बन्नुअघि नै विद्यालयका लागि विनियोजन भएको बजेट स्थानीय तह गठन भएपछि नपाएका कारण पनि यस्तो अवस्था आइपरेको उहाँले बताउनुभयो । उक्त सिँढीमा नाम लेखाउनका लागि न्यूनतम २५ हजारदेखि माथि जतिसुकै सहयोग प्रदान गर्न दाताहरुलाई आह्वान गरिएको छ ।

विद्यालयमा यसरी सूचना जारी भएपछि केही दाताहरु सम्पर्कमा आएको भए पनि सहयोग प्राप्त नभइसकेको प्रधानध्यापक सापकोटाले बताउनुभयो । अपेक्षा अनुरुप सहयोग संकलन भएमा विद्यालयको अन्य क्षेत्रमा रकम व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा विद्यालयमा शैक्षिक गुणस्तर विकासका लागि गुडनेटवर्कस इन्टरनेशनल नेपाल र सोडेकको साझेदारीमा सहयोग प्राप्त भएको छ । अहिले विद्यालयमा तल्लो तहदेखि माध्यमिक तहसम्म झण्डै तीन सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि विद्यालय स्मार्ट कक्षा समेत सञ्चालन गरेको छ । विद्यालयले श्रब्यदृश्य सामग्रीसहितको कक्षा सञ्चालन गरेपछि बालबालिकाहरुसमेत पढाईमा थप रुचीका साथ विद्यालयमा आउने गरेको र अभिभावकले विद्यालय प्रति हेर्ने दृष्टिकोणमा समेत फरक भएको विद्यालयका प्रधानध्याक कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

‘पहिला–पहिला विद्यालय प्रति खासै रुची नदिने अभिभावकहरुले पनि अहिले नियमित विद्यालय आउने र बालबालिकाहरुको पठनपाठन क्रियाकलाप प्रति चासो दिने गर्नु भएको छ’, उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया