आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
इजरायलका एक पूर्व क्याबिनेट मन्त्री गोनेन सेगेवलाई इरानका लागि जासूसी गरेको अरोपमा ११ वर्षको जेल सजाय हुने भएको छ । इजरायली न्याय मन्त्रालयले यसबारेमा जानकारी दिएको बीबीसीले जनाएको छ ।
सेगव सन् १९९० मा इजरायलका उर्जा मन्त्री रहेका थिए । उनी आफैले इरानका लागि जासूसी गरेको स्वीकार गरेका छन् । उनीमाथि इजराली अधिकारी र सेनासँग जोडिएका सूचना चुहाएको आरोप लागेको छ । उनी नाइजेरियमा बसिरहेका थिए । उनलाई मध्य अफ्रिकी देश इक्विटोरियल गिनीबाट गिरफ्तार गरिएको थियो । इजरायलले गएको मे महिनामा उनलाई सुपुदर्गी गराएको थियो ।
६३ वर्षीय सेगेवलाई फेब्रुअरी ११ मा आधिकारिक रुपमा सजाय सुनाइनेछ । इरानले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
यसभन्दा पहिले पनि सन् २००५ मा कुटनीतिक राहदानी प्रयोग गरी नेदरल्याड्समा संदिग्ध औषधि तस्करी गरेको मुद्दामा सेगेव ५ वर्षका लागि जेल गएका थिए ।त्यसपछि उनको डाक्टरको लाइसेन्स पनि खारेज गरिएको थियो । तर उनी जेलबाट छुटेपछि नाइजेरिया गए । त्यहाँ भने उनलाई डाक्टरी गर्ने अनुमति दिइयो ।
इजरायलको आन्तरिक सुरक्षा सेवाका अधिकारी शिन बेटले केही महिनाअघि भनेका थिए, ‘सेगेवले सन् २०१२ मा इरानी उच्च आयोगसँग सम्पर्क गरेका थिए । उनी दुई पटक इरान पनि गएका थिए । यो कुरा उनी आफैले स्वीकार गरेका थिए ।’
पूर्व मन्त्री सेगेवले उर्जा क्षेत्रसम्ग सम्बन्धित जानकारी, इजरायलका सुरक्षा क्षेत्र तथा सुरक्षा संस्थानका बारेमा इरानलाई जानकारी दिएका थिए ।
सेगेवले जासूसी गरेको स्वीकार गर्दै अनुसन्धानकर्ताहरुसँग भनेका थिए, ‘मैले इरानीहरुलाई छक्याइरहेको थिएँ । म इजरायलमा एउटा हिरोको रुपमा फर्कन चाहन्थेँ ।’
सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानमा धार्मिक कट्टरपन्थी सत्तामा आएका थिए । त्यसपछि इरानका नेताहरुले इजरायललाई ध्वस्त बनाइदिने धम्की दिँदै आएका थिए ।
त्यति मात्र होइन, इरानले इजरायलको अस्तित्व खारेज गर्दै उमाथि मुस्लिमभूमिमाथि गैरकानुनी कब्जा गरेको आरोप लगाएको थियो ।