कुटपिटमा परेका पूर्व सहायकमन्त्री र दुई नेतालाई उपचारका लागि काठमाण्डौ लगियो

 माघ २०, २०७५ आइतबार १६:२३:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको सदरमुकाम विवादमा भइरहेको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका पूर्व सहायकमन्त्रीसहित दुई जनालाई थप उपचारके लागि काठमाण्डौ पठाइएको छ । 

कुटपिटबाट घाइते पूर्व सहायकमन्त्री एवम् नेपाली कांग्रेसका नेता केशरमान रोका र नेकपाका नेता सतमान पुनलाई आइतबार काठमाण्डौ पठाइएको छ ।

रुकुमकोटमा सदरमुकामको माग गर्दै आन्दोलित स्थानीयले शानिबार रुकुम पश्चिमबाट रुकुमकोट जाँदै गरेका पूर्व सहायकमन्त्रीसहित रुकुमपूर्वका ४ जना नेतालाई कुटपिट गरेका थिए । आन्दोलनकारीले नेपाली कांग्रेस रुकुम पूर्वका सभापतिसमेत रहेका पूर्व सहायकमन्त्री रोकासहित नेकपाका नेता पुन, पुनिराज घर्ती र कांग्रेस नेता ध्रुवकुमार पुनलाई कुटपिट गरेका थिए ।

नेकपा नेता सतमान पुन

कुटपिटबाट पुनिराज र ध्रुवलाई सामान्य चोट लागेको भए पनि पूर्व मन्त्री रोका र सतमानलाई बढी चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

आन्दोलनकारीले गरेको कुटपिटबाट रोकाको कान, कम्मर, टाउकोका साथै शरीरका विभिन्न ठाउँमा चोट लागेको छ भने सतमानको घाँटी र ढाडमा चोट लागेको बताइएको छ । 

उनीहरु दुवै जनालाई नेपाल वायुसेवा निगमको जहाजमार्फत आइतबार रुकुम पश्चिमबाट नेपालगञ्ज हुँदै काठमाण्डौ पठाइएको सतमानका छोरा सुरेश पुनले बताउनुभयो । जिल्ला अस्पतालका डाक्टरको सल्लाहअनुसार उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको उहाले बताउनुभयो ।

नयाँ जिल्लाको रुपमा स्थापित रुकुम पूर्वको सदरमुकामबारे विवाद कायमै छ । उक्त जिल्लाको सदरमुकाम रुकुमकोटमा कि खोल्गाडामा राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ । २०७४ माघ ११ गते नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिल्लाको सदरमुकामको केन्द्र पुथा उत्तरगंगागाउँपालिका–१२ को गोल्खाडामा राख्ने निर्णय गरेको थियो ।

नेका नेता केशरमान राेका

रुकुमकोटवासीले सरकारले गरेको निर्णय खारेजको माग गर्दै रुकुमकोटमै स्थायी सदरमुकाम कायम गरिनुपर्ने बताएका छन् । माघ १६ गते अधिवक्ता गणेश हमाल र स्थानीय कृष्ण रेग्मी, दत्तबहादुर बस्नेतले सरकारको निर्णयको खारेजी माग गर्दै सर्वाेच्चमा रिट दर्ता गरेका थिए । यस विषयमा सर्वाेच्चले अहिलेसम्म १६ पटक पेशी सार्दै आएको छ । आगामी २७ गते सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

गोलखाडा सदरमुकामको पक्षमा रहेकाहरुले सरकारले गरेको निर्णय कार्यान्वयनको माग गरिरहेका छन् भने रुकुमकोटवासीहरु उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै आएका छन् । सरकारको गरेको निर्णय कार्यान्वनको दबाबका लागि गोल्खाडावासीहरु आगामी २२ गते रुकुमकोटमा आएर शान्तिपूर्ण र्‍यालीको प्रदर्शन गर्ने तयारी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया