अल्ट्रा धाविका मीरालाई पछ्याउँदै ‘भोजपुर रन’

 माघ २१, २०७५ सोमबार ८:४९:५९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – सानै उमेरमा दौडिन अब्बल भोजपुर बजारका १० वर्षीय विशेष मगरको सपना पनि अल्ट्राधाविका मीरा राई जस्तै च्याम्पीयन बन्ने छ । मगर बिहान झिसमिसेमै उठेर टुँडिखेल पुग्छन्  । यसका कारण उनको स्वास्थ्य पहिलेभन्दा राम्रो भएको छ । उनी शारीरिक रूपमा तन्दुरुत देखिन्छन् ।

जिल्लामा पहिलोपटक २०७३ माघ १२ बाट सञ्चालन भएको ‘भोजपुर रन’ले बालबालिकादेखि उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई पनि खुसी बनाएको छ । चार किलोमिटरको दौडमा शारीरिक रूपमा आफूलाई स्फूर्त राख्न सदरमुकामका ४० वर्ष उमेरभन्दा माथिकासमेत दौडने गर्छन् ।

नियमित रूपमा दौडँदा बढ्दो मोटोपन घट्नुका साथै श्वासप्रश्वासको समस्या हुनेलाई पनि निकै सहयोग पुगेको छ । मानिसलाई शारीरिक रूपमा तन्दुरुस्त रहन पनि दौड आवश्यक छ । विष्णुकुमारी राई भन्नुहुन्छ ‘नियमित दौडँदा मेरो मोटोपन घटेको छ ।’

पौवादुम्मा गाउँपालिका–५ सानोदुङ्मामा जन्मिएकी अल्ट्राधाविका मीरा राई पछिल्लो समय युवापुस्ताका लागि ‘आइडल’ बनेकी छन् । भोजपुरे चेलीको त्यो यात्रालाई सम्मान गर्दै रिमाचुङ एजुकेसन एन्ड स्पोर्टस् एकेडेमीले प्रत्येक साता ‘भोजपुर रन’ आयोजना गर्दै आएको छ ।

४.७७ किलोमिटरको भोजपुर रनमा उमेर ढल्कँदै गरेकाहरू पनि सहभागी हुन थालेका छन् । भोजपुर रनको एक सय हप्ता चलिरहँदा दौडले मीरा राईको पदचाप पछ्याउने बालधावकहरू बढी उत्साहित देखिन्छन् । टुँडिखेलबाट डाँडागाउँ, जिरो प्वाइन्ट, टक्सार, पोखरे र काफ्ले पानीट्यांकी हुँदै भोजपुर रनको परिक्रमा हुने गर्छ । भोजपुर सदरमुकाम परिक्रमा गरिने भएकै कारण यसको नाम ‘भोजपुर रन’ राखिएको हो ।

‘स्वस्थ तथा अनुशासित समाज निर्माण भए मात्र देशले असल चिनारी पाउँछ’  एकेडेमीका सचिव संग्राम राई भन्नुहुन्छ ‘युवापुस्तालाई कुलतमा फस्ने समयमा दौडमा व्यस्त बनाउँदा समाजमा विकृति फैलन पाउँदैन । उनीहरू स्वस्थ पनि रहन्छन् ।’ 

पुराना खेलहरुको संरक्षण, युवा पुस्ताका प्रतिभा बाहिर ल्याउने र अन्य मिरा राईजस्ता प्रतिभाको खोजी एकेडेमीको लक्ष्य रहेको अध्यक्ष पाविहाङ राई बताउनुहुन्छ । दौडमा युवापुस्ताको सहभागिता उल्लेखनीय पाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया