भृकुटीमण्डपमा २२ औँ पुष्प मेला सुरु

 चैत ८, २०७५ शुक्रबार १७:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबारदेखि भृकुटीमण्डपमा २२ औँ पुष्प मेला सुरु भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फान) र प्रदेश ३ को कृषि, भूमि तथा सहकारी मन्त्रालयको आयोजनामा सुरु भएको प्रदर्शनीको कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो । 

प्रदर्शनी उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले फूल व्यवसायमा नेपाललाई आत्मनिर्भर बनाउन उत्पादन र प्रविधिको प्रयोगमा जोड दिनुभयो । यस्तै कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले फूल व्यवसायमा आवश्यक पर्ने उच्च प्रविधिमा लगानी गर्न नसकिएको बताउनुभयो ।

फूल व्यवसायमा उच्च प्रविधिको प्रयोग गर्न नसक्दा भारतबाटै फूल आयात गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यस्तै कार्यक्रममा प्रदेश ३ का सांसद रामेश्वर फुयाँलले आर्थिक क्रान्तिका लागि फूल व्यवसाय बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार राजेश बर्मासहित विभिन्न पुष्प व्यवसायीलाई नगदसहित सम्मान गरिएको थियो । बर्मा नेपाल कृषि पत्रकार संघ (जोना)का पूर्व-अध्यक्षसमेत हुनुहुन्छ ।  

आइतबारसम्म चल्ने प्रदर्शनीमा ८४ वटा स्टल छन् । २०५१ सालदेखि प्रदर्शनी आयोजना गर्दै आएको फानले यस वर्ष झण्डै ६० लाख बराबरको कारोबार हुने फानका अध्यक्ष कुमार कसजुले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया