लिबिया : हवाई आक्रमणमा ४० आप्रवासीको मृत्यु

 असार १८, २०७६ बुधबार ११:५६:५६ | एजेन्सी
unn.prixa.net

लिबियाको आप्रवासी शिविरमा भएको हवाई आक्रमणमा कम्तीमा ४० जनाले ज्यान गुमाएका छन् । लिबियाको राजधानी त्रिपोलीको पूर्वी भागमा भएको आक्रमणमा अन्य ८० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परेर ज्यान गुमाउनेमा धेरै अफ्रिकी आप्रवासीहरु रहेका छन् । 

पछिल्ला केही वर्षमा यूरोप जाने आप्रवासीहरुका लागि लिबिया प्रमुख केन्द्र बनेको छ । लामो समयसम्म शासन सत्ता सम्हालेका मुअम्मर गद्दाफी सन् २०११ अपदस्थ भएपछि र मारिएपछि लिबिया हिंसात्मक र विभाजनको संघारमा छ ।

आपतकालीन सेवाका प्रवक्ता ओसामा अलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीलाई भने, ‘हवाई आक्रमणको समयमा शिविरमा एक सय २० जना थिए ।’ आक्रमणमा मृतकको संख्या थप  बढ्न सक्ने उनले बताए । 

संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारका प्रधानमन्त्री फयज अल-सेराले त्रिपोलीको पूर्वी उपनगर ताजौरामा भएको हवाई आक्रमणमा लिबियन नेशनल आर्मीको हात रहेको आरोप लगाएका छन् । यद्दपि यो प्रमाणित भैसकेको छैन । आप्रवासी शिविरमा भएको आक्रमणलाई ‘पूर्व निर्धारित’ र ‘जघन्य अपराध’ भएको एक बयानमा बताइएको छ । 

लिबियन नेशनल आर्मीको नेतृत्व खलीफा हफ्तारले गर्दै आइरहेका छन्, जसलाई निकै शक्तिशाली मानिन्छ । संयुक्त राष्ट्रसंघको शरणार्थी संस्थाले पनि आप्रवासी शिविरमा भएको आक्रमण निकै चिन्ताको विषय भएको प्रतिक्रिया दिएको छ । 

यूरोप जाने हजारौँ मानिसहरु सरकारले सञ्चालन गरेको आप्रवासी शिविरमा शरण दिँदै आइरहेका छन् । मानवअधिकारसम्बन्धी काम गर्ने संस्थाहरुले पनि यी आप्रवासी शिविरहरुको अवस्थालाई लिएर आलोचना गर्दै आइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया