बाँच्ने आशा मारिसकेका खड्काले श्रीमतीकै कलेजोबाट पाए दोश्रो जुनी

 साउन ३, २०७५ बिहिबार १५:२३:२० | उज्यालो सहकर्मी

भक्तपुर – ‘मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो, तर मेरो श्रीमतीको कलेजो र मायाले दोश्रो जुनी पाएँ ।’

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरको आईसीयू कक्षको शैयामा रहनु भएका कराँते खेलाडी ४३ वर्षीय बद्री खड्काले यसो भनिरहँदा उहाँको मुहार हसिलो देखिन्थ्यो ।

बुढानिलकण्ठ नगरपालिका –११, कपन निवासी खड्काको जीवनमा १३ वर्षदेखिको निराशा हटेपछि सिंगो परिवारमा खुसी छाएको छ । 

२०६२ सालमा कलेजोमा समस्या देखेर उपत्यकाका नाम चलेका विभिन्न अस्पताल धाउँदा धाउँदा झण्डै ३० लाख रुपैयाँ सिद्धिएको बताउँदै उहाँले भन्नुभयो– ‘डाक्टरले कलेजो प्वालै प्वाल छ भन्थे, इन्फेक्सन हुनबाट जोगाउन औषधि खाइरहेको थिएँ, कलेजो नफेरी हुँदैन भन्थे, त्यो अवसर बल्ल जुर्यो र बाँचेँ ।’

ओम अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, काठमाडौं मेडिकल कलेज हुँदै भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएपछि गएको असार १० गते कलेजो प्रत्यारोपण सफल भएसँगै उहाँले दोश्रो जुनी पाउनु भएको हो ।

‘श्रीमतीको रेखदेख र औषधि खाएकै भरमा अहिलेसम्म बाँचेको हूँ, २०६५ सालमा वीर अस्पतालका डाक्टरले खान मन लागेको जे खाए पनि हुन्छ खान दिनुस्, अब घर लानु पर्दैन, आर्यघाट लगे हुन्छ भने, त्यतिखेर मलाई भन्दा बढी गाह्रो मेरो श्रीमतीलाई भयो’, अस्पतालका डाक्टरले भनेका तितो अनुभव उहाँले सुनाउनुभयो । 

२०६० सालमा ललितपुर इमाडोलकी रुसा सुवेदीसँग मागी विवाह गर्नु भएका उहाँका १३ वर्षकी छोरी र ९ वर्षको छोरा छन् । छोराछोरी सम्हाल्दै विरामी श्रीमान्लाई विभिन्न अस्पताल पुर्याउँदै अन्तमा आफ्नै कलेजो दिएर बचाउन सफल हुनुभएकी रुसाको हिम्मत र आँटले नै आफू बाँच्न सफल भएको खड्का बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ– ‘शरीर सबै सुन्नियो, पेट निकै ठूलो भयो, पटक पटक फोक्सोबाट पानी झिक्दा मलाई भएको पीडा देखेर श्रीमतीलाई पनि धेरै दुखेछ, मेरो पीडा उनलाई सहन गाह्रो भयो, त्यसैले उनले आफ्नै कलेजो दिने निर्णय गरिन् ।’

नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु नभएकाले भारत जाने सल्लाह भए पनि भारतमा प्रत्यारोपणमै एक करोड रुपैयाँभन्दा बढी लाग्ने र डिस्चार्ज भएर आउने बेलासम्म एक करोड ५० लाख खर्च हुने भएपछि भारत गएनन् । 

यस केन्द्रमा भने २० लाख रुपैयाँ डिपोजिट गरेकै भरमा सफल कलेजो प्रत्यारोपणसँगै उपचार सकिएको बताउँदै उहाँले नेपालमै थोरै पैसाले प्रत्यारोपण गर्न सकिने हुँदा धेरैको ज्यान बाँच्ने र पैसाको वचत हुने बताउनुहुन्छ ।

डाक्टरमार्फत नै भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि केन्द्रमा आएर सबै जाँच गर्दा श्रीमतीको कलेजो प्रत्यारोपण गर्न मिल्ने भएपछि गएको असार १० गते प्रत्यारोपण गरिएको हो । 

रुसा भन्नुहुन्छ– ‘अब त उहाँले घरमात्रै कुरिदिए पनि पुग्छ, अरु केहीगर्नु पर्दैन, कमसेकम उहाँ भएपछि मेरो जीवन पूर्ण भएको छ, मेरो धेरै तनाब घटेको छ ।’
सानैदेखि माछा मासु नखाने, मदिरा नपिउने भए पनि २०५३ सालमा दुई पटक जण्डिस भएको थियो । कराँतेका मास्टर र करातेका थ्री डन  समेत भइसकेको बद्रीको २ वटा आफ्नै डोजो र विभिन्न विद्यालयहरुमा सिकाउनु जानु पर्ने हुँदा समयमै खाना खाने व्यवस्था नहुँदा धपेडीकै कारण कलेजो बिग्रिएको उहाँको भनाई छ । 

केन्द्रका प्रमुख एवं निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म तीन वटा कलेजो प्रत्यारोपण सफलता पूर्वक सफल भएको बताउँदै अब सातामा एउटा कलेजो प्रत्यारोपण गर्न सकिने अवस्थामामा केन्द्र पुगेको बताउँनुहुन्छ । 

भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्रा. डा. सुभाष गुप्ताको नेतृत्वमा रहेको ९ सदस्यीय टोली र केन्द्रका डा. श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले १४ घण्टा लगाएर खड्काको कलेजो प्रत्यारोपण गरेको उहाँको भनाई थियो । 

डा. श्रेष्ठले भन्नुभयो– ‘हामीसँग जनशक्ति र प्रविधि तयारी अवस्थामा छ, अब बिरामी आए हरेक साता कलेजो प्रत्यारोपण गर्न सक्छाँै । केन्द्रले २० लाखमै कलेजो प्रत्यारोपण गर्न सक्छ, अब यसकै लागि भारत जानु पर्दैन ।’

नेपालमा पहिलो पटक यही केन्द्रमा भक्तपुरका बलराम नागालाई उहाँकै दिदी सानुमाया लागेजूले कलेजो दिनुभएको थियो भने दोश्रो पटक केन्द्रमै लगनखेलका ५७ वर्षीय हिराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । उहाँलाई छोरी सरिताले कलेजो दिनु भएको थियो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया