वैदेशिक रोजगारीमा जानेहरु भन्छन् – नेपालमा साथीभाइ सँगै हुन्छन्, पैसा बचाउनै सकिंदैन !

 पुस ४, २०७६ शुक्रबार १३:४३:० | बेदानन्द जाेशी

काठमाण्डौ – साथीको साथले दुःख भुलाउँछ । खुशी थप्छ । आडभरोसा र जिउने सहारा दिन्छ । परिवार र आफन्तसँगै सुखदुःखका सहरा पनि साथी पनि हुन । तर कतिपयका लागि परदेश हिँड्नुपर्ने कारण पनि तिनै साथीभाइ नै हुँदा रहेछन् । 

त्रिभुवन विमानस्थलमा भेटिएका काठमाण्डौ स्वयम्भूका विवेक श्रेष्ठले भन्नुभयो, ‘काम खोज्दा यहीँ पनि केही गरौं भन्ने त हुन्छ, तर साथीभाइ हुन्छन्, यताउता ग¥यो कमाएको बच्दैन, त्यसैले विदेश हिँडेको,’ । 

यसअघि उहाँ सन् २०१५ मा मलेसिया जानुभएको थियो । त्योबेला अवस्था फरक थियो । बुवाआमाले पैसा जति पनि दिन्थे । तर बुवाआमाको पैसामा कहिलेसम्म बाँच्ने ? विवेक आफैं कमाउने अठोट बोकेर २२ वर्षको उमेरमै मलेसिया पुग्नुभयो । उता गएर  म्यानपावरले भनेजस्तै काम पाउनुभयो । टायर बनाउने कम्पनीमा टायर प्याकिङ गर्नुपर्ने काम थियो । महिनाको १८ सय रिंगिट तलब थियो । काम भने पुरै १२ घण्टा खट्नुपथ्र्यो ।

सुरुमा त काम सजिलै थियो । १२ घण्टा खटे पनि धेरै भार पर्दैन थियो । तर विवेक त्यहाँ काम गर्न थालेको एक वर्षपछि कम्पनीका मेसिन बिग्रिए । मेसिनले गर्ने काम पनि कामदारलाई लगाउन थाल्यो । दुःख बढी हुन थाल्यो । स्वास्थ्यमा समस्या हुनेजस्तो लागेपछि उहाँले काम छाडेर साथमा केही रकम र मनमा नेपालमै केही गर्ने योजना लिएर घर फर्किनुभयो । 

स्वदेश फर्किएपछि घर पेन्टिङ गर्ने काम गर्न थाल्नुभयो । कमाइ मलेसियाको जति नै हुन थाल्यो । मासिक २० ÷२५ हजार रुपैयाँ कमाइ हुन्थ्यो ।

‘कमाइ राम्रै हो, दिनको हजार/बाह्रसय त हुने, कहिलेकाहीँ त ठेक्का लियो भने झन बढी कमाइन्छ, तर बचाउन सकिन्न’, उहाँ भन्नुहुन्छ, ‘कहिले साथीभाइ भेटिन्छन्, कतै घुम्न गइन्छ पैसा त दुई दिन नि बच्दैन ।’

विवेकको अनुभवले भन्छ, ‘विदेशमा कामको दुःख छ, एक्लोपन छ र त बचत पनि छ । तर नेपालमा त्यसरी मन बाँध्न सकिंदैन ।’
विदेशमा समयको महत्व हुन्छ । जहाँ पनि जान जे पनि गर्न छुट छैन । परिवारसँग टाढा भएपछि बहकिन मनले दिँदैन । तर स्वदेशमा त्यस्तो हुँदैन ।

 विवेक श्रेष्ठ

‘त्यहाँ केही काम नगरी त्यत्तिकै बसे राति के खाने भन्ने चिन्ता हुन्छ, यहाँ त्यस्तो हुँदैन, त्यही भएर काममा खटिन नि मन लाग्दैन’, उहाँ भन्नुहुन्छ, ‘म लगातारपेन्टिङको काम गर्न थालेको ६र७ महिना भयो, महिनामा २०र२५ हजार रुपैयाँ कमाइ भएकै हुन्छ । तर त्यो सबै घर खर्च, साथीभाइसँग बस्दामै सकिन्छ, लास्टाँ त हातमा जिरो ।’ यही भएर विवेक फेरि विदेश जाने निर्णयमा पुग्नुभएको हो । 

‘एसपालि भने कतारको लागि प्रक्रिया गरिरहेको छु, दुईचार महिनापछि उड्छु होला’ विवेकले भन्नुभयो । 

मकवानपुरका ४३ वर्षीय सोमबहादुर नेस्यारको समस्या पनि यस्तै छ । उहाँ सन् २०१२ मा पहिलो पटक वैदेशिक रोजागारीको लागि साउदी पुग्नुभयो । ड्राइभिङको काममा साउदी जानुभएको थियो ।

सेवा–सविधा, तलब, सबै कुरा राम्रै थियो । तर गएको १३ महिना भएको थियो, उहाँलाई प्यारालाइसिस भयो । दिनभरी ड्राइभिङ गरेर राति सकुशल आफ्नै कोठामा सुत्नुभएको थियो । तर बिहान उठ्दा शरीरको एक भाग नचल्ने भयो । 

उहाँ ह्वीलचियरमा थन्किनुभयो । कारको स्टेरिङ घुमाउने हातले ह्वीलचियरको पाङ्ग्रा गुडाउनु पर्ने भयो । त्यसपछि कम्पनीले टिकट काटिदियो र नेपाल पठायो । 
नेपालमा एक वर्ष उपचार गराएपछि उहाँलाई निको भयो । एक वर्ष आराम गर्नुभयो । त्यसपछि फेरि उहाँको मनमा छटपटी हुन थाल्यो । 

‘उपचार गर्दा तीन लाख रुपैयाँ ऋण पुगिसकेको थियो, त्यत्तिकै कति बस्ने भनेर मनमा छटपटी हुन थाल्यो, त्यसपछि सुरुमै मेरो दिमागमा विदेश आयो’ उहाँले भन्नुभयो ।

हातमा सीप थियो । गाडी चलाउने काम नेपालमै पनि पाइन्थ्यो । तर उहाँले पनि कमाएको बचत गर्न सक्नुभएन । 

‘हातमा सीप भएपछि नेपालमै कमाई त हुन्छ । तर कमाइ आफूसित अडिंदैन, साथीभाइ, घरपरिवार भन्दै पैसा सक्किएको पत्तै हुँदैन ।’

एकपटक परदेशले दुःख दिएपछि उहाँ फेरि सुखको कल्पना गर्दै ४ वर्षअघि मलेसिया जानुभयो । सोमबहादुरको मलेसिया बसाइ साँच्चै सोचेजस्तै भयो ।  अहिले उहाँ कम्पनीमा सुपरभाइजरको काम गर्नुहुन्छ । सुरक्षा गार्डको काममा मलेसिया जानुभएका सोमबहादुर चार वर्षको बीचमा सुपरभाइजर हुनुभएको हो ।

सोमबहादुर नेस्यार

मलेसियाको कमाइले उहाँलाई चार वर्ष भुलायो । चार वर्षपछि बिदामा घर फर्किनुभयो । दुई महिना घरमा बिदा मनाएर मलेसिया फर्कने बेला भेटिएका सोमबहादुरले भन्नुभयो, ‘तीन छोरा, चार छोरी छन्, जिम्मेवारी धेरै छ, नेपालमै गाडी गुडाएर त गाह्रो हुन्छ जीवन धान्न । दुईचार वर्ष अझै पैसा बचाउन सके बल्ल नेपाल फर्कन्छु होला ।’

सोमबहादुर र विवेक नेपालमा काम गरेर पैसा बचत गर्न सकिएन भन्दै फेरि विदेश नै फर्किए । नवलपरासीका ३५ वर्षीय रामविलास गुप्ता चाहिँ भएको आफ्नो व्यवसाय नै बेचेरै विदेश हिँड्नुभयो । हुँदाखाँदाको व्यवसाय नै बेचेर परदेशीनुको कारण विवेक र सोमबहादुरको जस्तै छ रामविलासको पनि । 
‘नेपालमा जति कमाए पनि बच्दैन, के गर्नु,’ रामविलास परदेशीनुको एउटै कारण सुनाउछन् ।

उहाँ पनि ५ वर्षअघि मलेसिया जानुभएको थियो । तीन वर्ष काम गरेर फर्किनुभयो । विदेशबाट फर्किएर नवलपरासीको कृष्णनगरमा आफ्नै वेल्डिङ पसल पनि खोल्नुभयो । तर पसल सोचेजस्तो चलेन । 

‘४० हजार जतिको लगानीमा पसल खोलेको थिएँ, तर सोचेजति कमाउन सकिएन’, उहाँले भन्नुभयो, ‘कमाइ पटक्कै नभएको पनि होइन । तर जति कमाइ भयो त्यो पनि बचाउन सकिएन ।’

बचत नहुनुको कारण अनगिन्ती छन् । साथीभाइ, चाडबाड, भोजभतेर यस्तैयस्तै कारण सुनाउनुहुन्छ उहाँ । 

‘खर्च नभएपछि न हो पैसा बचत हुने, उता गएर दुई तीन महिनापछि घरमा एकमुष्ट ८० र९० हजार रुपैयाँ पठाउन पाइन्छ, यहाँ त जति कमायो उति नै सकियो,’ रामविलास थप्नुहुन्छ । 

‘दुई सन्तान् छन्, अहिले कमाएर बचत नगरे पछि यिनीहरुलाई गाह्रो हुन्छ, त्यही भएर विदेश जान लागेको’, रामबिलास भन्नुहुन्छ, ‘केही पैसा बचत भएपछि नेपालमै फर्किन्छु र जे जसरी हुन्छ कमाइको बाटो यतै खोज्छु ।’ 

विवेक, सोमबहादुर र रामबिलास जस्तै धेरैको गुनासो यस्तै हुन्छ, नेपालमा जति कमाए पनि बचाउन सकिंदैन । यस्तै विदेश गएपछि कमाउनै पर्छ भन्ने मानसिकता हुने भएकाले पनि त्यहाँ पैसा बचाउन सकिने बताउनेहरु पनि त्यति नै छन् ।

रामविलास गुप्ता

मलेसिया जानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँदै गरेका सर्लाहीका प्रेम लामाले भन्नुभयो, ‘उता पुगेपछि आफू कमाउनकै लागि आएको हो भन्ने हुन्छ, दायाँबायाँ सोचिंदैन । यत्रो खर्च लगाएर गएका हुन्छौँ, कमाएको बचाउनु त पर्यो नि, नत्र यति दुःख गरेर जानुको के अर्थ ?’

बचत नहुनुको मुख्य कारण कम तलब र सीपको अभाव 

वैदेशिक रोजगारीमा जानुमा सबैका आ–आफ्नै पीडा छन् । कोही काम नपाएर, कोही तलब कम भएर त कोही लहैलहैमा पनि विदेशको बाटो तताउँछन् । धेरैले देशमा काम गरेर बचत गर्न सकिंदैन भन्छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसाल देशमा रोजगारीको अभाव हुनु, भएका रोजगारीका अवसर पनि मौसमी हुनु, अदक्ष श्रमिक र पर्याप्त पारिश्रमिक नहुनुका कारण आम्दानी कम हुने र आम्दानी कम भएपछि बचत पनि स्वभाविक रुपमा कम हुने बताउनुहुन्छ ।

मोटरसाइकल मर्मत गर्ने व्यक्तिको उदाहरण दिदै उहाँ भन्नुहुन्छ, ‘उहाँहरुसँग सीप छ, यो सधैँ चलिरहने काम हो । ४० देखि ५० हजार रुपैयाँ यतै कमाउनुहुन्छ ।’ 
‘युवाहरु डिग्रीको भरमा मात्र परेर पनि भएन, हातमा सीप हुन पनि जरुरी छ’ सीपमुलक तालिम लिन आग्रह गर्दै उहाँ भन्नुहुन्छ, ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पटक पटक सूचना प्रकाशित गरेरै सीपमुलक तालिम सञ्चालन गर्दै आएको, त्यसमा चासो दिएर सीप सिक्यो नेपालमै राम्रो कमाइ हुन्छ ।’

सीप भए रोजगारीका अवसर मिल्ने र पारिश्रमिक पनि बढी हुने हुँदा विदेश जानु पर्दैन । पालिकाबाटै बचतबारे अभिमुखिकरण तालिम दिन सकिने भूसाल बताउनुहुन्छ ।

फेरि परदेशमा कमाएको चाहिँ बच्छ भन्ने पनि हैन । कतिले परदेशमा कमाएर उतै उडाएको पनि कयौं घट्ना छन् । कमाइ छ र चाहने हो भने पैसा बचाउने विभिन्न उपाय छन् भन्नुहुन्छ, सुरक्षित आप्रवासन परियोजना सामीका वित्तिय शाक्षरता अधिकृत सनत सापकोटा ।

‘सामानहरु किन्दा आवश्यकतालाई ध्यान दिइरहेको छु या चाहना पूरा गरिरहेको छु भन्ने कुरा बुझ्नुपछ, यसको मतलब चाहनाहरु मार्नुुपर्छ भनेको होइन, तर स्रोत सीमित छ भने आवश्यकतालाई प्राथमिकता दिनुपर्छ,’ खर्च घटाउने उपाय सुझाउनुहुन्छ उहाँ । 

दैनिक आफूले गर्ने खर्च र आम्दानीको हरहिसाब राखे, आवश्यकतालाई मात्र प्राथमिकता दिने गरेमा मात्र पनि बचत बढाउन सकिने सापकोटा बताउनुहुन्छ । 

अन्तिम अपडेट: माघ १५, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया