साप्ताहिक शेयर समीक्षा : यो साता शेयर बजारमा के–के भयो ?

 साउन ४, २०७५ शुक्रबार १६:१९:९ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ८६ वटा कम्पनीको शेयर कारोबार भएको छ । १५ हजार १ सय २८ वटा कारोबारबाट १ अर्ब ४५ करोड ५७ हजार रुपैयाँ बराबरको रकम परिचालित भएको छ । विभिन्न कम्पनीका ४७ लाख ५४ हजार ५ सय २० कित्ता शेयर किनबेच भएका छन्  ।

यस हप्ता प्राइम लाइफ इन्सुरेन्स रकम र कित्ताको आधारमा पहिलो भएका छन् । कम्पनीका १२ लाख ५२ हजार कित्ता शेयर कारोबार भएको छ । कम्पनीका कारोबार भएका यी शेयरहरु संस्थापकतर्फका हुन् । नबिल बैंकको सबैभन्दा धेरै (९६८ पटक) कारोबार भएको छ । रकमको आधारमा प्राइम लाइफ  (संस्थापक), नबिल बैंक, नबिल बैंक (संस्थापक), नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्सुरेन्स क्रमशः रहेका छन् । 

यस हप्ता रिलायन्स फाइनान्स र नेपाल इन्सुरेन्सको हकप्रद शेयर सूचीकरण भएका छन् । त्यस्तै मिथिला लघुवित्त, नेपाल इन्सुरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस शेयर पनि सूचीकरण भएका छन् ।

कारोबार रकम गत हप्ता भन्दा ३१.३२ प्रतिशतले घटेको छ । कारोबार रकम घटेसँगै सूचक पनि घटेको छ । गएको हप्ता ११९१.९८ मा बन्द भएको नेप्से सूचक १.४१ अंकले बढेर ११९३.३९ मा बन्द भएको छ । पहिलो दिन आइतबार बजार बन्द हुँदा १२००.०९ पुगेको सूचक अन्तिम दिन बिहीबार बजार बन्द हुँदा ६.७ अंकले घटेर ११९३.३९ अंकमा आएको छ । सोमबार १२१२.६ पुगेको भए पनि त्यसपछिका दिनमा क्रमशः झरेको थियो ।

समूहगत परिसूचकमा वित्त समूहको परिसूचक ६.८ अंकले बढेको छ भने अन्य सबै समूहको परिसूचक घटेको छ ।  बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८३.०८ अंकले घटेको छ । यस हप्तादेखि बीमा समूहलाई जीवन र निर्जीवनमा बाँडेको छ । यस हप्ता भने बीमा समूहलाई एकै ठाउँमा राखेर सूचक गणना गरेको छ । यस हप्ता शेयर कारोबार ५ दिन पूरै खुलेको थियो ।

लाभकरकाे अन्याैल कायमै

लाभकर गणनासम्बन्धी विवादको अझसम्म पनि निर्णय आइसकेको छैन । यससम्बन्धी निर्णय नआउँदा पनि शेयरबजारमा अन्योल रहेको देख्न सकिन्छ  ।

अनलाइन कारोबार प्रणालीको युजर एसेप्टेन्स टेस्ट (यूएटी) सुरु भएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको उपयोग गर्न भने तत्काल पाइने छैन  ।

आर्थिक वर्ष समाप्त भएको छ  । कम्पनीले कस्तो वित्तीय विवरण सार्वजनिक गर्लान् भन्दै लगानीकर्ताहरु प्रतिक्षामा रहेका छन् ।  अघिल्लाे तीन महिनालाई आधार मान्ने हो भने प्राय सबै कम्पनीले राम्रै आम्दानी गरेको आँकलन गर्न सकिन्छ । तर पूँजी बढेको तुलनामा प्रतिशेयर आम्दानी नदेखिने हुँदा यसलाई उचित ढंगले बुझ्न नसकेमा बजारमा अझ गिरावट आउनसक्छ  ।

बुझ्नुपर्ने चुरो कुरो यहीँ छ तर लगानीकर्तामा यति गहन अध्ययन गर्ने सामर्थ्य नहुँदा अकारण बजारमा गिरावट आउँछ  । फ्रष्ट माइक्रोफाइनान्सले वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ  । कम्पनीले सार्वजनिक गरेको विवरण हेर्दा निराश हुनुपर्ने ठाउँ देखिन्न ।

लगानीकर्ताले लगानी उद्देश्य निर्धारण गर्न नसक्दा नगद र बोनस लाभांशको महत्व बुझ्न नसकेको देखिन्छ  । झन् यसपाला त पूँजी अत्याधिक बढेकोले नगद लाभांश मात्र दिन्छन् भन्ने मनोविज्ञानले डेरा जमाएको छ  ।

मुल्य महंगो राखिएको भनेर सर्वत्र आलोचना भएको एनएमबी बैंकको एफपीओमा माग भन्दा बढी आवेदन परेर असार ३२ गते बाँडफाँड समेत गरेको छ । नेपाल बैंकले जारी गरेको एफपीओमा आवेदन गर्ने क्रम जारी रहेको छ ।

नेशनल लाइफ, नागबेली लघुवित्त, मिर्मिरे लघुवित्त, समता लघुवित्त, सिनर्जी फाइनान्स, सिद्धार्थ इन्सुरेन्स, आरएसडीसी लघुवित्त, जेविल्स फाइनान्स र प्रभु इन्सुरेन्सको हकप्रद खुलिरहेको छ  ।

प्रभु इन्सुरेन्सको साउन १० र जेविल्स फाइनान्सको साउन १३ गते हकप्रदमा आवेदन गर्ने अन्तिम मिति रहेको छ  ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया