भुक्तानी माग गर्दै उखु किसानद्वारा महालक्ष्मी सुगर मिलमा तालाबन्दी

 पुस १७, २०७६ बिहिबार २०:५:५८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - उखुको भुक्तानी माग गर्दै सर्लाहीका उखु किसानले गोडैतामा रहेको महालक्ष्मी सुगर मिलमा तालाबन्दी गरेका छन् ।

अघिल्लाे वर्षको २१ करोड बक्यौता रकम तत्कालै भुक्तानी नगरेसम्म मिल चल्न नदिने उखु किसान मुकेश ठाकुरले जानकारी दिनुभयो । बिहीबार दिउँसो उद्याेग परिसरमा जम्मा भएका किसानहरुले आउँदाे सोमबारसम्म पनि बक्यौता रकम भुक्तानी नगरे अनिश्चितकालको लागि तालाबन्दी गरेर थप संर्घषका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

बक्यौता रकम भुक्तानी गर्न आफूहरुले पटक पटक आग्रह गर्दासमेत उद्योग सञ्चालक वीरेन्द्र कनोडियाले वेवास्ता गरेका कारण मिलमा तालाबन्दी गर्नुपरेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताउनु भयो।

उखु किसानहरुले उद्योगसँग २१ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए पनि उद्योग सचालक कनोडियाले भने किसानलाइ १६ करोड रुपैयाँ मात्र  भुक्तानी गर्न बाँकी रहेको दावी गर्नुभएको छ ।

उखु किसानहरुले बाँकी रहेको १६ करोड रकम लिन तयार भए आउँदाे सोमबारसम्ममा सबै भुक्तानी गरिदिने कनोडियाले आश्वासन दिनुभयो । गएकाे वर्षबाट क्रसिङ सुरु गरेको उद्याेगले पहिलो वर्षमा नै यसरी भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका छन्।

सरकारले उखु बालीलाई नगदे बाली घोषणा गरेको भए पनि एक वर्षसम्ममा भुक्तानी नपाउँदा घर खर्च टार्न मुस्किल परेको किसान रामनरेश रायले गुनासो गर्नुभयो। त्यसैगरी सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले पनि किसानको तीन वर्षदेखिको ५१ करोड बक्यौता रकम भुक्तानी गर्न नसकेकाले अहिलेसम्म मिल सञ्चालन हुन सकेको छैन।

सर्लाहीको इन्दुशंकर चिनी काररखानाले भने एक साता अघिबाट याे सिजनका लागि क्रसिङ सुरू गरेको उद्याेगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो। सर्लाहीमा यस वर्ष २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया