नेकपा संसदीय दलको निर्णय : प्रदेश–३ काे नाम वाग्मती र राजधानी हेटाैँडा

 पुस २५, २०७६ शुक्रबार १४:१८:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश-३ को संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौँडा नै कायम गर्ने प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । 

प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा अन्य पाँच जिल्लाको नाम पनि समावेश गर्नुपर्ने भन्दै सांसदहरुबीच विवाद भए पनि शुक्रबार बसेको दलको बैठकले अब हेटौँडाको मात्रै नाम प्रस्ताव गर्ने निर्णय गरेको हो । 

राजधानीकै विषयलाई लिएर पाँच दिनसम्म सत्तारुढ दलकै सांसदहरु विभाजित हुँदा संसद बैठकमा प्रस्ताव पेश गर्न सकिएको थिएन । 

शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको संसद बैठकमा प्रदेशको राजधानी हेटौँडा राख्ने पक्षमा मात्रै प्रस्ताव दर्ता गर्न लागिएको सत्तारुढ नेकपाका प्रदेश-३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । 

प्रदेशको नाम वाग्मती राख्ने विषय भने सर्वसम्मतले बैठकले निर्णय गरेर प्रस्ताव दर्ता गर्न लागिएको उहाँले जानकारी दिनुभयो । केही सांसदहरुले भने प्रदेश राजधानीमा अरु जिल्लाको पनि नाम दर्ता गराउने भनेका छन् ।

प्रदेश-३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठकले राजधानी र नामाकरणका विषयमा निर्णय गरेसँगै अब संसदमा राजधानी र नामाकरणको प्रकृया अघि बढ्न सहज हुने देखिएको छ ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । 

सचिवालयको निर्देशनपछि मुख्यमन्त्री डोरमणि पौडेलको सक्रियतामा शुक्रबार प्रदेश ३ को संसदीय दलको बैठक पाँचौ पटक बसेको हो । पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमति जुटाउन संसदीय दलको बैठकमा लगातार छलफल चलेको थियो ।  

केही सांसदहरुले केन्द्रले संवैधानिक प्रावधान अनुरुप हस्तक्षेप गरेर निर्देशन दिएको भन्दै त्यसको विरोध गरेका थिए । तर केही सांसदहरुले भने केन्द्रको निर्देशन नमान्ने भए दलमा बसिरहनु उपयुक्त नहुने भन्दै  त्यागेर जान चुनौती दिएका थिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया