बाग्लुङमा गाभिए चार सहकारी संस्था

 माघ ९, २०७६ बिहीबार २०:१९:२ | रासस
unn.prixa.net

बाग्लुङ - बाग्लुङका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । 

एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । 

एकीकृत सहकारी संस्थाको अध्यक्षमा हिमालप्रसाद शर्मा चयन हुनुभएको छ । सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि - २०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर सहकारी एकीकरण गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

‘आउँदो शनिबार हुने साधारणसभाबाट एकीकरणलाई अनुमोदन गरेर अगाडि बढ्छौँ’, उहाँले भन्नुभयो । एकीकरणपछि सहकारीको कुल शेयर पूँजी  पाँच करोड २३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै शेयर सदस्य सङ्ख्या ६२१ छ । रु नौ करोड बचत र रु एक अर्ब १३ करोड वार्षिक कारोवार रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । सहकारीको कार्यक्षेत्र जिल्लाभर छ ।
 
पूँजी, भौतिक तथा मानवय संसाधनद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा समितिलगायत अन्य समिति र पदाधिकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ । 

यस्तै शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि–२०७० ले गरेको छ ।

यस्तै रामरेखा बहुउद्देश्यीय, रात्माटा कृषि र मूलपानी कालिका सहकारी संस्थालाई एकीकरण प्रक्रियामा ल्याउन छलफल चलिरहेको कालिका सहकारीले जनाएको छ । हालसम्म जिल्लामा १५ भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् । 

जिल्लामा पहिलोपटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको थियो । 

सरकारले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन एकीकरणको नीति ल्याएको हो । जिल्लामा ४०० बढी सहकारी संस्था छन् ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया