गृह मन्त्रालयको निर्देशनअनुसार दैलेखमा भत्काइए २४१ छाउगोठ

 माघ ९, २०७६ बिहिबार १७:२३:१ | रासस
unn.prixa.net

दैलेख - गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । 

त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी २४१ छाउ गोठ भत्काइएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा सामाजिक कु–संस्कारका रूपमा व्याप्त प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम गरेको भए पनि मनको छाउ नभत्केको नारायण नगरपालिका– १ दैलेखका समाजसेवी मनोज थापा बताउनुहुन्छ । 

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तक्र्रिया र छलफल गरिएपछि दैलेखमा छाउगोठ भत्काउने अभियान थालिएको हो । छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका छन् । तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पूर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा छाउगोठ भत्काइएको छैन । 

ठाटिकाँधमा छुट्टै छाउगोठ नभएका घरकै गाई गोरु बाँध्ने ठाउँमा महिनावारी भएका महिला बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले गोठ नभत्काइएको प्रहरी निरीक्षक साउदले बताउनुभयो । छाउगोठ भत्काउन बाँकी रहेका महाबु, भगवती, नौमूले र डुगेश्वर गाउँपालिकामा उस्तै समस्या भएको प्रहरी निरीक्षक साउदको भनाइ छ ।  
    
दैलेखको पश्चिम नौमूले गाउँपालिकामा छाउप्रथा नरहेको र नौमूलेको सल्लेरीका केही ठाउँमा रहेको हुँदा त्यस क्षेत्रमा गाउँपालिकाबाट जनचेतनामूलक कार्यक्रम गरिने उपाध्यक्ष अमृता सिंहले बताउनुभयो । जिल्लाका अधिकांश बस्तीमा महिनावारी हुँदा बस्न छुट्टै छाउगोठ छैनन् । उनीहरू गाई भैँसीसँगै गोठमा बस्ने गरेका छन् । महिनावारी हुँदा गाईभैँसी बाँधेकै ठाउँमा बस्ने महिलाको सङ्ख्या जिल्लामा अत्याधिक छ । 

दुई जनाकाे मृत्यु

गत वर्ष छाउघरमै बसेका कारण सर्पले टोकेर चामुण्डाविन्द्रासैनी नगरपालिकामा गएको वर्ष दुई जना महिलाको छाउगोठमै बसिरहेका बेला मृत्यु भएको थियो ।

यो अभियानभन्दा अगाडि विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले छाउगोठ भत्काउनाका साथै केही स्थानीय तहलाई छाउपडीमुक्त घोषणा गरिएको थियो । स्थानीयवासीमा जनचेतना नजगाइ छाउगोठ भत्काइए पनि पुनःमहिला नछुने भएका बेला छाउगोठमा बस्दै आएका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया